मोदीको सरकारमा अमित शाह गृहमन्त्री, राजनाथलाई रक्षा

मोदीको सरकारमा अमित शाह गृहमन्त्री, राजनाथलाई रक्षा


बिहीबार गठित भारतीय मन्त्रिपरिषदको कार्यविभाजन गरिएको छ । नवगठित मन्त्रिपरिषदमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् भने भाजपा वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

यसैगरी विदेशमन्त्रीमा पूर्वविदेशसचिव एस जयशंकरलाई नियुक्त गरिएको छ । उनी गैरसांसद हुन् । प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषदमा एस जयशंकरलाई नियुक्त गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपले हेरिएको छ । नेपालमा संविधान जारी भएपछि भारतीय पक्षको असन्तुष्टि र त्यसपछिको भारतीय नाकाबन्दीलाई उनको भूमिकासँग जोडेर हेर्ने गरिएको छ ।

संयोग नै मान्नुपर्छ विदेशमन्त्रीका रूपमा जयशंकरको नियुक्तिका अवसरमा उनका सबैभन्दा बढी आलोचक केपी शर्मा ओली प्रधानमन्त्री मोदीका अतिथिका रूपमा शपथग्रहण समारोहमा सहभागी थिए ।

बिहीबार साँझ गठित मन्त्रिपरिषदका अन्य सदस्यहरूमा निर्मला सीता रमन अर्थ, रविशंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियूस गोयल रेल, नितिन गडकरी सडक परिवहनमन्त्री बनेको भारतको राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार गठित २५ क्याबिनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरूलाई हजारौँ आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपतिभवन परिसरमा शपथ गराएका थिए थिए ।