लन्डन । गत हप्ता विश्वले युकेमा अराजकताको अनि मानवाधिकारको अमर्यादित उदाहरण देख्यो । एक शङ्कास्पद ग्याङस्टरको पुलिसको गोली प्रहारबाट भएको मृत्युपछि उत्तरी लन्डनस्थित टोटनहामबाट फैलिएको अराजकता युकेका २६ वटा सहरमा फैलियो । २९ वर्षीय शङ्कास्पद ग्याङस्टर मार्क डुग्गानको मृत्युलाई ‘पुलिसको अत्याचार’ जनाउँदै टोटनहामको पुलिस कार्यालयअगाडि थालिएको सानो विरोध प्रदर्शनीको अन्त्यमा केही उशृङ्खल युवाहरूबाट पुलिसका कारलाई तोडफोड गर्न सुरु गरिएको थियो, सो स्थलमै करोडौँको धनमाल आगलागीका कारण नष्ट हुन पुगेको थियो । केही हदसम्म, काला जातिका समुदायहरू, चार सन्तानका बाबु मार्कको पुलिसबाट गरिएको हत्या भनाउँदै अति नै क्रूद्ध र असन्तोष बन्दै गरिएको विरोधको पराकाष्ठा मान्न थालिएकोलगत्तै बगेको पानीमा हात धुने प्रवृत्तिका युवाहरूका विभिन्न झुण्डहरूले युकेका विभिन्न स्थानहरूमा लुट्न, आगो लगाउन अनि आतङ्क मच्चाउन सुरु गरेका थिए । देशका विभिन्न स्थानमा भइरहेको सो प्रकारको अराजकतासँग मार्क डुग्गानको मृत्युको सम्बन्धै थिएन । अशान्त भइरहेको बेलामा मौकाको फाइदा लिन केटाकेटीलगायत वयस्क युवायुवती पनि नचुकेका समाचारहरूका टीभी लेन्सहरूबाट सर्वत्र सार्वजनिक भएको थियो ।
वास्तवमा, युकेको कानुन, मानवाधिकारको आडमा निक्कै नै तरल अवस्थामा बनेको लाग्छ । मानव विकास तथा आर्थिक विकासलगायत व्यवस्थाहरूका प्रतिपादकको रूपमा रहेको बेलायती राजनीतिक अनि बेलायती सामाजिक मानसिकतालाई कानुनी रूपमा यसरी क्षीण लाग्ने बनाएको लाग्दछ कि कुनै पनि बेला, कुनै पनि अवस्थाबाट व्यवस्थालाई नै सङ्क्रमित बनाउन सक्दछ । त्यसैको परिणाम हो, युकेका काम नगरी, वहाना बनाई अनि सन्तानहरूको जत्था थुपारी राजषी ठाँटमा बस्ने परिवारहरूका परिमाणहरू अत्यधिक रहेको छ । शरणार्थीहरू यहाँ आधिकारिक रूपमा सानसँग सरकारी सहुलियत र सुविधा खाएर राजषी परिवेशमा ठूला घरहरूमा बस्दछन्, जब कि आमपरिश्रमी बेलायती कामदारहरू भने आफ्नो कमाइको प्रशस्तै अंशहरू करहरूका विभिन्न रूपबाट सरकारलाई बुझाउन बाध्य हुन्छन् । त्यस्तैगरी, लन्डनको ह्यारिङ्ग्ये काउन्सिलअन्तर्गत पर्ने टोटनहाममा सरकारी सुविधालाई वा बेलायती कानुनको सङ्क्रमित हालतलाई खेल्नेहरूका सङ्ख्या वास्तवमा नै भन्ने भए बहुमतमा रहेका छन् । ज्यादाजसो कालाजातिहरूको बाहुल्य रहेको सो स्थानमा विभिन्न अवस्था र व्यवहारमा विभिन्न कम्पनीहरू आफ्नो सहभागिता राख्न हिच्किचाउँछन्, डेलिभरी कम्पनीहरू प्रतिनिधिहरू सो स्थानमा डेलिभरी गर्न रुचाउँदैनन् । काम नगरी सरकारी भत्ता खाई साँढेजस्ता लाग्ने बच्चाबच्चीदेखि युवाहरूको जत्थाहरू छाडा भएर हरपल सहरका विभिन्न गल्ली तथा सडकहरूमा हल्लिरहेका अनि विभिन्न मोडहरूमा झगडाहरू भइरहेका अनि रगताम्मे भएर भाग्नेहरू अनि आक्रामक भएर लखेट्ने यत्रतत्र देखिनु त्यहाँको समुदायमा सामान्य होला तर त्यो बाटो भएर गुज्रनेहरूलाई अति नै आततायी लाग्नु स्वाभाविकै हो । त्यसमाथि २२ वर्षमुनिका युवाहरूको सङ्ख्याको ९० प्रतिशत बेरोजगार रहेको बताइएको सो क्षेत्रमा आपराधिक कामहरू नहुने कुरै भएन । विभिन्न प्रकारका गैरकानुनी गतिविधिहरू कार्यान्वयन गरिने उक्त क्षेत्रमा पुलिसको गतिविधि पनि स्वाभाविक रूपमा बढी नै रहने हुन्छ । सन् ८५ मा एक काला जातिको युवालाई त्यस्तै एक गैरकानुनी कार्य गरेबापत समातिएपछि सो युवककी आमाले केही जत्था लिएर पुलिस स्टेसनमा धर्ना दिएकी थिइन् भने पुलिससँगको तातोतातो बहसको उपरान्तमा दुईपटक हृदयाघात भइसकेकी ती महिला तेस्रो घातपछि त्यहीँ ढलेकी थिइन् । त्यसपछि सोही क्षेत्रमा पहिलो लुटपाट तथा आतङ्कजनक कार्यहरू थालिएको थियो, जसमा एक पुलिसको स्टेसनमा नै हत्या गरिएको थियो । केही घरहरू जलाइनुका साथै थुप्रै मोटर जलाइएका थिए । त्यसको २५ वर्षपछि, धेरै समयदेखि पुलिसले निगरानीमा राखेको मार्कलाई पुलिसले अन्ततः पिछा गर्दै पक्रिन सफल हुने क्रममा ट्याक्सीको प्यासेन्जर सिटमा बसेका मार्कबाट पिछा गर्दै नजिक आउँदै गरेका पुलिसउपर गोली प्रहार गरिएलगत्तै पुलिसले जवाफमा चलाएको गोलीले उनको मृत्यु भएको थियो । पुलिसलाई छातीमा झुन्ड्याइएको रेडियोमा गोली लागेको बताइएको थियो भने सोही गोली प्रहरी प्रशासनबाट नै दर्ता गरिएको गोली रहेको हल्ला आउनासाथ सर्वत्र सनसनी मच्चिएको थियो । दुई गोली लागेर मारिएका मार्कलाई लागेको पहिलो गोली उनको शरीर छेडेर गई उनीतिर आइरहेका पुलिसको छातीमा रहेको रेडियोमा गाडिएको अहिलेसम्मको भनाइ रहेको छ तर सेफ्टी क्याच नै अन नगरिएको मार्कको साथमा भएको पेस्तोलको अवस्था सार्वजनिक भएपछि खासगरी टोटनहाममा विरोध झाङ्गिएको थियो ।
पहिला लन्डनका विभिन्न स्थानहरूमा फैलिएको अराजकता पाँचौँ दिनसम्ममा लन्डनबाहिर पनि फैलिएको थियो । लन्डन मेयर बोरिस जोन्सन, गृहसचिव थेरेसा मेई, अनि स्वयम् प्रधानमन्त्री पनि आफ्नो छुट्टीको अवधिलाई छोट्याउँदै लन्डन र्फकन बाध्य भएका थिए यही काण्डले गर्दा भने यही लुटपाट तथा अराजक हालतले गर्दा लन्डनस्थित ह्याक्नीमा कारभित्र एकजनाको गोली हानी हत्या गरिएको छ भने बर्मिङघममा समुदायलाई जोगाउनका लागि लागिपरेका तीन युवाको गाडीको तेज रफ्तारको ठक्करबाट हत्या भएको छ । त्यस्तै लन्डनकै एक स्थानमा आगो लागेको घरभित्र एकजना युवतीलाई मृत अवस्थामा फेला पारिएको छ । टोटनहामको एक बिल्डिङ र लन्डनकै अर्को सहर क्र्योएडेनको अर्को बिल्डिङ, दोस्रो विश्वयुद्धको मारबाट पनि बचेका थिए, हाल ध्वस्त पारिएका छन् । सयौँ वर्ष पुराना ती बिल्डिङ यी दुई क्षेत्रलाई चिनाउने नमुनाको रूपमा रहेका थिए ।
अराजकता सुरु भएको पाँचौँ दिनपछि अहिले लगभग १००० जना उद्दण्ड युवालाई समातिएको छ भने लगभग दुई सयजनाउपर कारबाही थालिएको छ, जसको लागि रातभरि सर्वोच्च अदालतमा विशेष सुनुवाइ भइरहेको छ । यो अराजकताले गर्दा नै अहिलेसम्म नदेखिएको ठूलो परिमाणमा पुलिसहरूको उपस्थिति लन्डनमा भएको छ । १६००० प्रहरी लन्डनका सडकमा र सयौँचाहिँ अफिसका कम्प्युटरअगाडि बसी सहरमा जडान गरिएका विभिन्न सीसीटीभीहरूका फुटेजहरू हेर्दै आतङ्ककारीहरूको पहिचान गर्न व्यस्त छन् । पाँचौँ दिनपछि युकेमा शान्तिको पुनर्वहाली भएको भान भइरहे पनि विभिन्न सहरमा पसलहरू चाँडै बन्द गर्ने अनि सिसाहरूउपर काठको फल्याक ठोक्ने काम भने रोकिएका छैनन् । कतिपय क्षेत्रहरूमा अराजककारी युवाहरूलाई रोक्नका लागि प्रतिरक्षा टोलीहरूले आफ्नो सहरहरूको परिक्रमा गर्ने क्रम थालेका छन् भने बिस्तारै दिनहुँ सयौँ युवाको घरघरमा गई समातिने क्रम बढ्दै गएको छ ।
प्रधानमन्त्री क्यामरुन बिदा छोट्याई लन्डन फर्केलगत्तै आपतकालीन मिटिङ कोब्रालाई सभापतित्व गरेका छन्, जो दुईपटक बसिसकेको छ । र, यही बिहीबारबाट संसद्लाई पनि बोलाइएको छ । गत हप्ता विश्वले देखेको लन्डन अराजकतामा पुलिसहरूको प्रयत्न अति नै फितलो बताइएको छ भने फायर बिग्रेडहरू लगभग प्रभावहीन देखिएको छ । क्यामरुनको सरकारले पुलिस विभावबाट हजारौँ सङ्ख्याहरू घटाउने भन्ने योजनाउपर कार्यान्वयन नहुने अर्थात् पुलिसको सङ्ख्यामा कमी नगर्नेतिर सबैको एक मत हुने विश्वास राखिएको छ भने पुलिसलाई रबरको गोलीको प्रयोग, पानीको फोहोराको प्रयोगलगायतका अन्य ससाना बरि्जत गरिएका अधिकारलाई फुक्का गर्न दिने पक्का भएको छ । मानवाधिकारको जननीकर्ता बेलायतमा सोही मानवाधिकारको आडमा हरकोहीले बेलायती नीतिसँग खेलबाड गर्न सक्ने प्रत्यक्ष प्रसारणमार्फत संसारलाई थाहा भएपछि भने फितलो नीति अर्थात् ब्रोकन सिस्टमलाई पुनरावलोकन नगरी यो सरकार अनि प्रतिपक्षलाई सुखै नभएको सर्वत्र चर्चा रहेको छ ।
लस्करै कारहरू पार्क गरी विभिन्न पसलहरूबाट आफूलाई चाहिने सामानहरू कारको बुटमा हालेको, पसलहरूका ट्रलीहरू भरी-भरी सामानहरू ओसारिएको, पसलहरूका सिसाहरू फोर्दै अनि आगो लगाउँदै युवाहरू मुस्कुराइरहेको, घाइतेलाई सहयोग गरेको बहाना गर्दै उक्त घाइतेलाई नै लुट्दै गरेकोलगायतका अति नै असामाजिक, अमर्यादित अनि अमानवीय व्यवहारहरूको प्रसङ्गलाई सम्झँदै प्रधानमन्त्रीले ती समाजका कोडको रूपमा रहेका, निच अभिभावकत्व पाएका ती बालबालिकउपर पनि कानुनी कारबाही अत्यन्तै सख्त रूपले हुने भनेका छन् जसलाई विपक्षले पनि स्वीकार गरेका छन् ।
देशमा रहने व्यवस्था वा लागू गरिने नीति-नियमहरू ती सर्वसाधारण कानुनपालन गर्ने नागरिकहरूका लागि नै हुन् । जो सीधा छन्, जो जागरुक छन्, तिनलाई नै कानुनका परिभाषाहरूले तिनका ससाना व्यवहारलाई सम्बोधन गर्ने गर्दछ भने जसले कानुनलाई नै मान्दैनन्, तिनलाई कानुनअन्तर्गत कारबाही गर्न साधारण हालतमा बेलायत असमर्थ रहेको देखिन्छ किनकि, जब त्यस्तो अवस्था आउँछ, त्यहाँ मानवाधिकार, बालअधिकार, शरणार्थी अधिकार, बाँच्न पाउनुपर्ने अधिकार, खान पाउनुपर्ने अधिकार, बोल्न पाउनुपर्ने अधिकार, चिच्याउन पाउनुपर्ने अधिकारलगायत यस्ता अधिकारहरू छन् कि त्यसको प्रयोगको दुहाइ दिएलगत्तै ती निरपराध लाग्दछन् यहाँ । कसैको घर फोडेर भित्र पस्नेलाई बस्न पाउने अधिकार हुन्छ, तिनलाई सरकारले या त बासको व्यवस्था गर्न सक्नुपर्छ, या त्यसरी नै कसैको खाली घरलाई कब्जा गर्न दिइनुपर्छ । चोरलाई पनि चोरी गरी खान पाउने अधिकार भएको लाग्दछ । सरकारले या त खाना दिनुपर्छ, या त रोजगारी । यसको आखिरीमा यो बहुजाति, बहुभाषी, बहुसंस्कृतिका मानिसहरू भएको देशमा सानो-सानो अवस्थामा पनि भेदभावको दुहाइ दिन मिल्दछ, तब त्यो देशमा कानुन वा पुलिस नाम मात्रका लाग्छन् । तर अर्को वर्ष लन्डनमा हुँदै गएको ओलम्पिकको प्रभावलाई निस्तेज नपार्नका लागि भने बेलायती सरकारले यसपालि कानुनउपर अनि वर्तमान हालतको व्यवस्थाउपर धेरै हेरफेर गर्ने पक्का छ । यो नयाँ फेरबदलीले कतिपय आम अनि सर्वसाधारण कानुन पालन गर्ने नागरिकहरूलाई कुनै न कुनै अवस्थाले पिरोल्ने पक्का छ ।-वुडग्रीन, लन्डनबाट
प्रतिक्रिया