बोकोहरामद्वारा नाइजेरियामा २२ किसानको हत्या

बोकोहरामद्वारा नाइजेरियामा २२ किसानको हत्या


नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी समूह बोकोहरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानको एक समूहलाई बोकोहराम लडाकुले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएका दर्जनौँ महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् । मंगलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताए । स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ ।

नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशकयता बोकोहराम आतंककारी समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौँ व्यक्तिको ज्यान गइसकेको छ ।