कंगोमा खानी दुर्घटनामा १९ बालबालिकाको मृत्यु

कंगोमा खानी दुर्घटनामा १९ बालबालिकाको मृत्यु


कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो ।

ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरू मजदुर पनि चेपुवामा परेको हुन सक्ने बताएको छ । केही सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या अझ बढी रहेको आशंका गरेका छन् । ग्लेनकोरले पछिल्ला दिनमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ । यहाँको खानीमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।

अलजजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सातजना कामदारको ज्यान गएको थियो । अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्ने क्रममा वर्षेनी धेरैको ज्यान जाने गरेको छ ।