काबुलमा विस्फोट : ३४ को मृत्यु, ६८ घाइते

काबुलमा विस्फोट : ३४ को मृत्यु, ६८ घाइते


आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरू एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । शुरुमा आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारी सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारलाई समेत यस इलाकामा जान अनुमति नदिएको समाचारमा जनाइएको छ ।

आक्रमण र यसपछिको अवस्थाको विस्तृत विवरण प्राप्त भएको छैन । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ । –एएफपी