गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रदेशको समृद्धिको मुख्य आधार भएको बताएका छन् । प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समितिको प्रथम बैठकको सोमबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले पर्यटन गुरुयोजना बनाउन बजेट विनियोजन गरेको जानकारी दिए ।
पर्यटन विकास तथा विस्तारमा प्रदेश र स्थानीय सरकार एवम् निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्ल्ेख गर्दै उनले पर्यटनलाई उत्पादनसँग जोडनुपर्ने बताए । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि ११० पर्यटकीय गन्तव्य घोषणा गरी विकासमा जुटेको बताउँदै मुख्यमन्त्री गुरुङले आवश्यक भौतिक संरचना प्रदेश सरकारले निर्माण गर्ने र त्यसको दिगो विकासका लागि स्थानीय तहको पहल आवश्यक रहेको उल्लेख गरे ।
मौलिक कला, संस्कृति, प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधता प्रदेशको अमूल्य निधि रहेको चर्चा गर्दै उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटकको बसाइ लम्ब्याउन सकिने विचार व्यक्त गरे । विश्वमा अग्ला स्थानमा अवस्थित तिलिचो ताल, पदमार्ग, हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथ, विश्व प्रख्यात पदमार्गहरु, ढोरपान शिकार आरक्ष, शालिग्राम उत्पादन गर्ने एक मात्र नदी कालीगण्डकी विभिन्न स्थानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन पालिकास्तरमा समिति गठन गरिने तयारी भइरहेको जानकारी दिए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि घरवासले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदेशमा पर्यटन विकासको उत्साह बढेको बताए ।
नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेका पर्यटन वर्षहरु (आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० तथा अन्तराष्ट्रिय पर्यटन वर्ष २०२२) समेतलाई आधार मानेर कार्ययोजना संशोधन गर्ने निर्णय सो बैठकले निर्णय गरेको छ । गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समितिको प्रथम बैठक विभिन्न सात प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालको अध्यक्षतामा पोखराको दोबिल्लामा बसेको मूल आयोजक समितिको प्रथम बैठकले कार्ययोजनामा संशोधन गर्ने, कार्यविधि तयारी गर्ने, कार्यक्रमको तीव्र तयारी गर्ने, जिल्ला र स्थानीयस्तरीय समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रतिक्रिया