प्रतिस्पर्धामा रामचन्द्र देउवालाई एउटा मौका

प्रतिस्पर्धामा रामचन्द्र देउवालाई एउटा मौका


माओवादी अध्यक्ष प्रचण्डले मात्र थामेर थामिन सक्ने स्थिति नभएपछि झलनाथ खनालले सुरक्षित अवतरण खोज्दै गत आइतबार प्रधानमन्त्री पदबाट राजीनामा त दिनुभयो, तर अब नयाँ प्रधानमन्त्रीको चयन सहमतिका आधारमा हुन फेरि पनि मुस्किल देखिएको छ । नेकपा माओवादीले आफ्नोतर्फबाट डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघिसारेको छ भने नेपाली काङ्ग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चित छ । तर, प्रचण्डको उक्साहटमा उचालिएका शेरबहादुर देउवाले गाईजात्रे शैलीमा पार्टीमा अशान्ति र अराजकतापूर्ण स्थिति सिर्जना गर्नुभएपछि राष्ट्रिय सहमतिको सरकार गठन हुने भएमा त्यस्तो सरकारको नेतृत्व गर्ने मौका देउवालाई दिने निर्णय सभापति सुशील कोइरालाले लिनुभएको छ । पौडेलका विरुद्ध अविश्वास प्रस्ताव ल्याएर मतदान मात्र गर्नुपर्दा पनि पार्टीमा विभाजनको अवस्था आउन सक्ने भएकोले देउवालाई एक मौका दिएको बुझिएको छ । देउवा विगत तीन महिनादेखि रामचन्द्र पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाउँदै हुनुहुन्थ्यो । बहुमत पुगेको भए प्रस्ताव दर्ता गराउने तयारीमा रहेका देउवाले केही गर्दा पनि बहुमत नजुटेपछि उहाँलाई आफ्नो अवाञ्छित अभियानबाट सम्मानजनक बहिर्गमन चाहिएको थियो । देउवाको असामान्य र असहज गतिविधिलाई दृष्टिगत गरी नेता रामचन्द्र पौडेल चिन्तित बन्नुभएको र उहाँले देउवालाई एउटा मौका दिनु उपयुक्त हुने राय प्रकट गर्नुभएपछि सभापति सुशील कोइरालाले त्यस्तो निर्णय लिनुभएको हो । पार्टीमा देउवाले बढाएको विवाद र तनाव शिथिल तुल्याउन रामचन्द्र पौडेलले जुन उदारता देखाउनुभयो, त्यसबाट पौडेलको उचाइ थप बढेको महसुस गरिएको छ । पौडेल पनि देउवाजस्तै पद र अवसरमोही भइदिएका भए मंगलबार काङ्ग्रेस उच्चस्तरको बैठकलाई यसप्रकारको निर्णय लिन मुस्किल पर्न सक्थ्यो ।
देउवालाई एउटा मौका दिइए पनि पार्टी नेतृत्वको समर्थन र सहानुभूति रामचन्द्र पौडेलतिर रहेको स्पष्ट देखिन्छ । व्यक्तिगत रूपमा अपमान सहेर पनि गत वर्ष पौडेलले पार्टी र प्रजातन्त्रका निम्ति आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम राख्नुभएकोमा उच्च मूल्याङ्कन गर्दै काङ्ग्रेसले प्रतिस्पर्धामा जानुपर्दा उहाँलाई नै उम्मेदवार बनाउने भएको हो । संसदीय दलको नेतासमेत रहनुभएका उपसभापति पौडेलको पक्षमा पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलमा स्पष्ट बहुमत रहेको छ । राष्ट्रपति डा. रामवरण यादवले संविधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न एक साताको समय-सीमा (भदौ ४ सम्म) निर्धारण गरी दलहरूलाई आह्वान गर्नुभएको छ । दलहरूको सोच र क्रियाकलाप हेर्दा सहमतिको सरकार गठन हुनसक्ने सम्भावना फेरि पनि देखिएको छैन । सहमतिको सरकार बन्न माओवादीले शान्ति स्थापनाको पक्षमा विश्वासयोग्य वातावरण बनाउँदै ठोस कदम चाल्नुपर्ने हुन्छ, जसको सम्भावना ज्यादै कम मात्र छ । सहमतिको सरकार गठन हुन मुस्किल देखेर नै मोहन वैद्य किरणले डा. बाबुराम भट्टराईको एक अभिव्यक्तिमा आपत्ति जनाउँदै त्यस्तो अभिव्यक्ति नदिन सचेत गराउनुभएको बताइन्छ । डा. भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठन भए मात्र आफू प्रधानमन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । भट्टराईलाई सहमतिको नभए बहुमतीय नै भए पनि प्रधानमन्त्री बनाइनुपर्छ भन्ने पक्षमा वैद्य पहिलेदेखि नै रहनुभएको थियो । यसरी माओवादीले बहुमतीय या सहमतीय जे भए पनि बाबुराम भट्टराईलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । नेपाली काङ्ग्रेस पनि प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा स्पष्ट रहेको हो, तर शेरबहादुर देउवालाई प्रचण्डले उचालेका कारणले मात्र काङ्ग्रेसभित्र केही विवादजस्तो देखिन पुग्यो । तीनपटक प्रधानमन्त्री भइसकेका देउवाले राजनीतिक रूपमा आफूभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न नदिन छेकवार लगाउन निकै कोसिस गर्नुभयो । प्रचण्डको इसारा पाएपछि गत वर्ष झलनाथ खनाल मडारिएझैं यसपटक काङ्ग्रेसमा शेरबहादुर देउवा मडारिनुभयो । देउवाले आफूलाई पार्टीले समर्थन दिए अन्य दलहरूको समर्थन स्वतः प्राप्त हुने धाक पार्टीभित्र लगाउँदै आउनुभएको छ । जब कि उहाँलाई प्रचण्डबाहेक अन्य कसैको पनि समर्थन हुनसक्ने देखिँदैन । मधेसकेन्द्रित दलका महन्थ ठाकुर, जयप्रकाश गुप्ता र विजय गच्छदारजस्ता नेताहरू देउवालाई कुनै पनि अवस्थामा समर्थन गर्ने मानसिकतामा हुनुहुन्न । उहाँहरूको प्राथमिकतामा बाबुराम भट्टराई या रामचन्द्र पौडेल पर्ने निश्चित मानिन्छ । त्यस्तै, नेकपा एमालेले पनि देउवाभन्दा पौडेलकै पक्षमा वातावरण बनाउन सघाउने देखिन्छ । एमाले नेताहरू माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वरपोखरेल र विद्या भण्डारीलगायत बहुसङ्ख्यकको ‘च्वाइस’ रामचन्द्र पौडेल बन्नुभएको छ । भनिन्छ, उहाँहरू देउवाको भन्दा चाहिँ बाबुराम भट्टराईकै नेतृत्व उपयुक्त हुने ठान्नुहुन्छ । एमालेमा झलनाथ खनाल र वामदेव गौतम देउवाका पक्षमा उभिनसक्ने सम्भावना छ, तर उहाँहरू दुईको कुरा सुन्ने अवस्थामा अब एमाले रहेन । माधव, केपी, ईश्वरर विद्या जहाँ उभिनुहुन्छ एमालेको बहुमत त्यहीँ रहने हुँदा एमालेबाट देउवालाई समर्थन हुनसक्ने देखिँदैन ।
माओवादीले प्रधानमन्त्रीका रूपमा अघि सार्नुभएका डा. बाबुराम भट्टराईलाई गाली गर्न शेरबहादुर देउवा दुई साताअघि गोरखा पुग्नुभएको थियो । प्रचण्डलाई रिझाउन उहाँले बाबुरामलाई जथाभावी गाली गर्नु त भयो, तर अहिले प्रचण्डलाई रिझाएर माओवादी पार्टीको समर्थन प्राप्त गर्न सकिँदैन भन्ने कुराको हेक्का देउवाले राख्नुभएन । वैद्य, बाबुराम, बादल र सीपी गजुरेल जहाँ उभिन्छन् माओवादी पार्टी त्यहीँ हुने स्थिति बनेको छ । उहाँहरू सकेसम्म डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय या बहुमतीय सरकार गठन गर्ने, नभए विपक्षी भूमिका निर्वाह गर्ने आन्तरिक तयारीमा हुनुहुन्छ । देउवाको नेतृत्वलाई माओवादीले स्वीकार गर्नसक्ने सम्भावना छैन । तर, देउवाले प्रचण्डको साथ र समर्थनलाई माओवादीकै समर्थनका रूपमा बुझनुभएको छ । प्रचण्डनिकटका एक माओवादी नेताले घटना र विचारसँगको भेटमा भने, ‘हाम्रो पार्टीले त क. बाबुरामजीकै नाम अघि सारिसकेको छ । तर, हामीलाई बाबुराम प्रधानमन्त्री बनेको अवस्थामा भन्दा शेरबहादुर भएको अवस्थामा नै बढी लाभ हुने हाम्रो विश्लेषण छ ।’ त्यो कसरी त भन्ने हाम्रो थप जिज्ञाशामा उनले भने, ‘लेख्ने कुरा त होइन, शेरबहादुरलाई उपयोग गर्न धेरै सजिलो छ र देउवा पनि हामीजस्तै भारतविरोधी हुनुहुन्छ, त्यसैले बाबुरामभन्दा देउवा हाम्रा निम्ति उपयुक्त छन् ।’ प्रचण्ड पक्षले बनाएको यस किसिमको धारणामा वैद्य र बाबुरामको सहमति हुनसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । त्यर्सथ देउवाको पक्षमा प्रचण्ड, झलनाथ र उपेन्द्र यादवबाहेक अरू कोही पनि नरहने स्थिति छ । उल्लिखित तीनजनाको मात्र साथ र सहयोगले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने सम्भावना नरहेको हुँदा देउवा भदौ ४ गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुने अवस्था छ । सहमतिको सरकार बन्ने अवस्था आएमा डा. बाबुराम भट्टराई नै प्रधानमन्त्री हुनुहुने सम्भावना बढी छ भने बहुमतीय सरकार गठन हुने अवस्थामा रामचन्द्र पौडेल नै अबको प्रधानमन्त्री बन्नुहुने सम्भावना छ । त्यो किनभने माओवादीले आफूलाई बदलेर साँचो अर्थमा शान्तिप्रक्रियामा सामेल भयो भने माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने निश्चित छँदै छ । कदाचित माओवादीले आफूलाई ठोस कार्यक्रमसहित प्रस्तुत गर्न सकेन भने उसले पनि बहुमतीय प्रधानमन्त्रीका लागि आफूलाई प्रस्तुत गर्नेछ । त्यसरी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा काङ्ग्रेसबाट देउवा होइन नेता पौडेल नै अघि सर्नु हुने निश्चित छ ।