अविरल वर्षाका कारण मुम्बईमा पर्खाल भत्किँदा १८ को मृत्यु

अविरल वर्षाका कारण मुम्बईमा पर्खाल भत्किँदा १८ को मृत्यु


भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताएका छन् ।

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ । भारी वर्षाका कारण सरकारी बिदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घरबाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

विश्वविद्यालय र विद्यालयहरू बन्द गरिएको र मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एक सय उडान रद्द गरिएको छ । मौसमी विवरण अखिलेख राख्ने एक निजी निकायले मुम्बईमा १३ इन्चसम्म वर्षा भएको जानकारी दिएको छ ।

अविरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ ।
–एएफपी