गृहको नक्कली लेटरप्याड प्रयोग गरी गृहप्रवक्ताको किर्ते हस्ताक्षर गर्ने दम्पती पक्राउ

गृहको नक्कली लेटरप्याड प्रयोग गरी गृहप्रवक्ताको किर्ते हस्ताक्षर गर्ने दम्पती पक्राउ


गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाई प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटनजिकबाट एक दम्पती पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको हो ।

उनीहरूको साथबाट गृह मन्त्रालयको नक्कली लेटरप्याडमा मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर गरिएको पाइएको छ । प्रहरीले अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकाले क्षतिपूर्तिस्वरूप ९५ करोड रुपैयाँ दिने निर्णय भएको र थप रु. ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद रु. ४२ हजार २ सय १० समेत बरामद भएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।