नेप्सेमा दोहोरो अंकको वृद्धि कायमै

नेप्सेमा दोहोरो अंकको वृद्धि कायमै


मंगलबार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले बढेर एक हजार २६८.६८ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर २७२.९८ बिन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कुल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता सेयर रु. ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको सेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटेल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बिमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बिमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ ।

नेपाल बैंक लिमिटेडको सेयर रु. चार करोड ५३ लाख ३१ हजार ८७० मा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक रु. तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल रु. तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड रु. तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड रु. तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रो पावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले २.५ प्रतिशतले गुमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ५.६२ प्रतिशतले कमाए ।