देउवाको दादागिरी कहिलेसम्म?-हरदम कोइराला

देउवाको दादागिरी कहिलेसम्म?-हरदम कोइराला


नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विगत चार महिनादेखि सक्रिय शेरबहादुर देउवा अचानक सहमतीय सरकार गठनको निम्ति काङ्ग्रेस पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषित हुँदा सिङ्गै मुलुक केही क्षणका लागि स्तब्ध भयो । देउवालाई काङ्ग्रेस पार्टीले कुनै पनि रूपले प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने अनुमान र आशा नगरिएको परिप्रेक्ष्यमा उहाँको उम्मेदवारी अप्रत्यासित एवम् अनपेक्षित बन्न पुगेको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागिताका दृष्टिले देउवाभन्दा वरिष्ठ रामचन्द्र पौडेल पार्टी र प्रजातन्त्रप्रतिको निष्ठामा पनि पचासौं कदम अगाडि मानिनुहुन्छ । इमानदारीमा पनि पौडेल अतुलनीय रूपमा देउवाभन्दा अगाडि देखिनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान पुर्‍याउनुभएका रामचन्द्रले सरकारको नेतृत्व लिएर आफ्नो ‘क्षमता’ देखाउने अवसर अहिलेसम्म पाउनुभएको छैन । आफूभन्दा अनेक अर्थमा कनिष्ट देउवाले तीन-तीनपटक प्रधानमन्त्री ‘पड्काएको’ हुँदा यसपटक रामचन्द्र पौडेल प्रधानमन्त्रीका निरि्वकल्पिक उम्मेदवार बनाइनुहुने अपेक्षा सर्वत्र गरिएको थियो । तर, आशा र अनुमानविपरीतको निर्णय काङ्ग्रेसले दियो, देउवाको दादागिरीका अघिल्तिर सुशील कोइरालादेखि प्रकाशमान सिंहसम्मले आत्मर्समर्पण गर्नुपरेको महसुस गरियो । ‘म अनेकौंपटक प्रधानमन्त्री भएँ तर आफूबाट कुनै सकारात्मक कार्य हुन सकेन, यसपटक रामचन्द्रजीलाई प्रधानमन्त्री बनाऊँ’ भन्ने प्रस्ताव देउवाबाट आउन सकेको भए त्यसले देउवाको उचाइ वृद्धि गर्ने त छँदै थियो, काङ्ग्रेसको एकतालाई पनि मजबुत तुल्याउन सक्थ्यो । तर, देउवाको चेतले उहाँलाई पद र शक्तिबिना ‘महान्’ बन्न सकिन्छ भन्ने बोध गराएन । बरु ‘सत्ता नपाए सकिन्छु’ भन्ने टीठलाग्दो लोभ र मोहले उहाँलाई वशीभूत तुल्यायो । आफूलाई चौथोपल्ट प्रधानमन्त्री बन्न असहयोग गर्ने हो भने ‘पार्टी विभाजन गराउँछु’ भनी देउवाले दिनुभएको धम्कीको सहज प्रतिवाद गर्नुभन्दा प्रधानमन्त्रीको उम्मेदवार बनाइदिनु नै सायद उपयुक्त ठान्नुभयो सुशील कोइरालाले र बनाइदिनुभयो । सहमतिको सरकार गठन गर्ने अवसरबाट रामचन्द्र पौडेललाई वञ्चित गर्दा पौडेलको मानमर्दन मात्र भएको छैन, सहमतीय सरकार गठनको सम्भावनाको हत्या पनि भएको छ । देशमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको व्यक्तित्व अलगअलग ढङ्गले स्थापित भएको छ । पौडेल विचार र सिद्धान्तमा कसैसँग कहिल्यै सम्झौता गर्न चाहनुहुन्न, विचारक एवम् एक निष्ठावान् नेताका रूपमा उहाँको छवि बनेको छ । तर, शेरबहादुर देउवाको विचार भनेकै आफू हो, आफूलाई लाभ पुग्छ भने उहाँ जहाँ जस्तासुकैसँग पनि सम्झौता गर्न तत्पर हुनुहुन्छ । रामचन्द्र सिद्धान्तका निम्ति आफूलाई बलिदान गर्न तयार हुनुहुन्छ, शेरबहादुरचाहिँ आफ्ना लागि सिद्धान्तको बलिदान गर्न कहिल्यै हिचकिचाउनुहुन्न । पौडेल र देउवाबीचको प्रथम भिन्नता पनि सम्भवतः यही नै हुनुपर्छ । देउवाले आफूमा रहेको ‘लठेब्रोपन’को उच्च उपयोग गर्दै धेरैलाई आफ्ना पक्षमा उपयोग गर्ने गर्दै आउनुभएको छ, तर रामचन्द्रले आफ्नो निष्ठाका पक्षमा अरूहरूलाई परिचालन गर्न सक्नुभएको छैन । पौडेलका शुभचिन्तक र सहयोगीहरू पर्याप्त छन्, तर उहाँले आफ्नै सहयोग र शुभचिन्तकहरूबाट राम्ररी सहयोग प्राप्त गर्न पनि सकिरहनुभएको छैन । पौडेलमा विद्यमान सङ्कीर्णता र सङ्कुचित मानसिकताले सहयोगीहरूमाथि भर पर्न या विश्वास गर्न छेकबार लगाइरहेको देखिन्छ । को मानिस आफ्ना लागि कतिबेला काम लाग्छन् बिनाहिचकिचाहट तिनलाई प्रयोग गर्ने सोच र शैली देउवाको छ । पार्टी नेतृत्वमा लामो समयदेखि रहँदै आउनुभएका रामचन्द्र पौडेल संसदीय दलको नेता बनिसकेपछि उहाँ एउटा शक्तिकेन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको थियो, तर त्यस्तो हुन सकिरहेको छैन र नहुनुमा पौडेलका स्वभावजन्य कमजोरी पनि जिम्मेवार ठानिन्छ । एउटा शक्तिकेन्द्रको रूपमा संस्थागत ढङ्गले विकास हुन नसकेकै कारण रामचन्द्र पौडेललाई देउवाभन्दा होचो देख्नु या देखाइनु सर्वथा गलत छ र त्यसो गर्नुलाई न्यायसङ्गत पनि मानिँदैन । पार्टी र प्रजातन्त्रका लागि सत्रपटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा पराजित हुन तयार हुनुभएका रामचन्द्र सत्ताका निम्ति निर्लज्ज व्यवहार प्रदर्शन गर्न चाहनुहुन्न भन्ने दृष्टान्त यसपटक प्रस्तुत भएको छ । देउवाले चौथोपटक प्रधानमन्त्री बन्न गर्नुभएको लडिबुडीले ‘…लाई भन्दा देख्नेलाई लाज’ भनेझैं सायद रामचन्द्र लज्जित हुनुभयो या देउवाको धुन्धुकारी शैलीले काङ्ग्रेस एकतामा पुर्‍याउनसक्ने सम्भावित खतिले उहाँलाई चिन्तित तुल्यायो, फलस्वरूप देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दिएर रामचन्द्रले पार्टीप्रतिको ममता र लोकतन्त्रप्रतिको अगाध चिन्ता आफूमा रहेको प्रमाण पेस गर्नुभएको ठानिएको छ । गत वर्ष रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका कारणले मात्र काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने मौका नपाएको ठान्नुहुने देउवाले आफूलाई उम्मेदवार बनाइएमा माओवादीको समर्थन लिएर प्रधानमन्त्री बन्ने किटानी बयान दिँदै आउनुभएको थियो । शेरबहादुर देउवाले कतै बुढानीलकण्ठतिर मदिराको आहालमा डुब्दै घोषणा गर्नुभएको थियो, ‘मलाई पार्टीले उम्मेदवार बनाउने हो भने अठचालीस घन्टाभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण गरिदिन्छु ।’ देउवाका समर्थक र शुभचिन्तकहरूले उहाँको अभिव्यक्तिलाई यति महत्त्वका साथ चर्चामा ल्याए कि पार्टीभित्रसमेत त्यसले दबाब पैदा गर्‍यो । सम्भवतः यस्तै दबाबको पृष्ठभूमिले सुशील कोइरालालाई एउटा बाध्यात्मक अवस्थामा पुर्‍याएको हुनसक्छ । यसबाहेक देउवाले सुशील कोइरालालाई भेटी बारम्बार ‘पार्टी एकीकरण गर्नु आफ्नो भूल भएको’ बताउनुले देउवाको फुटपरस्त सोच ‘एक्स्पोज’ मात्र गरेको छैन, त्यसले कोइराला स्वयम्माथि तीव्र दबाब पैदा गरेको अनुमान गर्न सकिन्छ । पौडेलविरुद्ध अविश्वास प्रस्तावको ‘हाउगुजी’ देखाएर तर्सर्ाा गरिएको प्रयास सफल नभएपछि देउवाले पार्टीका आफ्ना समर्थक र सञ्चारमाध्यम तथा पत्रकारहरूलाई पनि आफ्नो पक्षमा वातावरण बनाउन परिचालन गर्नुभयो । त्यतिले नपुगेर आफ्नी पत्नीसम्बद्ध आईएनजीओमार्फत युरोपेली युनियन र अमेरिकीहरूलाई समेत परिचालन गरी सुशील कोइरालामाथि दादागिरी शैलीमा दबाब सिर्जना गरियो । देउवाद्वारा सिर्जित दबाबको भार थेग्न नसकेर उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको भए पनि यस प्रकरणले सुशील कोइरालाको नेतृत्व-क्षमता, रामचन्द्र पौडेलको निरीहता र देउवाको दादागिरीलाई एकैपटक सतहमा ल्याइदिएको छ । कसैले पार्टी विभाजन गरिदिने धम्की दिएकै भरमा उसलाई महत्त्वपूर्ण जिम्मेवारी या अवसर दिँदै जाने हो भने अन्ततः पार्टीमा इमानदार एवम् निष्ठावानहरू पाखा लाग्नुपर्ने र दादागिरी गर्नेहरू मात्र महत्त्वपूर्ण भूमिकामा रहनसक्ने खतरा बढेको छ । तर, यसपटक सहमतीय सरकारको नेतृत्व गर्ने अवसर देउवालाई दिएर काङ्ग्रेसले गम्भीर प्रकृतिको भूल गरेको भन्नचाहिँ नमिल्न सक्छ । सहमति बनाउन नसकेपछि देउवाले आफ्नो हैसियत, औकात र माओवादीको रणनीति एकैपटक बुझन पाउनुहुने ठानिएको छ । तर, देउवालाई उम्मेदवार बन्न मात्र मौका दिइँदा पनि केही गम्भीर प्रश्न भने अवश्य उठेको छ ।
रामचन्द्र पौडेल देउवाझैं अर्बौंको मालिक बन्न सक्नुभएको छैन, रामचन्द्र मदिराको नशामा लठ्ठनि सक्नुहुन्न र अनुचित कमाइधमाइलाई पाप ठान्नुहुन्छ । रामचन्द्र पार्टीलाई गुटबन्दीको राजनीतिबाट मुक्त राख्ने अभियानमा हुनुहुन्छ र लोकतन्त्रको रक्षाका निम्ति काङ्ग्रेसको सुदृढ भविष्य चाहनुहुन्छ । रामचन्द्र विचार र सिद्धान्तमा अडिनुहुन्छ र कुनै पनि गलत मानिसले गलत कामका लागि उहाँलाई दुरुपयोग गर्न सक्दैन । के यिनै विशेषताका कारण रामचन्द्र पौडेल सहमतीय सरकार निर्माणको अगुवाइका निम्ति अयोग्य ठहरिनुभएको हो ? के निष्ठावान् एवम् निष्कलङ्कित मानिसलाई राष्ट्रिय सहमतिको सरकार गठनको पहलकदमीका निम्ति मौका दिइनुहुँदैन ? के विदेशी दबाब निम्त्याउन सक्ने, बार्गेनिङ क्षमता भएका र सत्ताका निम्ति जोसँग जस्तोसुकै सम्झौता गर्न पनि तत्पर हुनेलाई मात्र काङ्ग्रेस नेतृत्वले सुवर्ण अवसर उपलब्ध गराउनुपर्ने हो ? यदि यस्तै हो भने काङ्ग्रेस नेतृत्वले विवेक गुमाएको छ र यसप्रकारको नेतृत्वले पार्टी र लोकतन्त्रको भविष्य रक्षा गर्ने विश्वास नगर्नु उपयुक्त हुनेछ । कसैको दादागिरीकै आधारमा महत्त्वपूर्ण निर्णय लिइने परम्परा बस्नु काङ्ग्रेस र लोकतन्त्र मात्र नभई देशका निम्ति समेत किमार्थ जायज मान्न सकिँदैन ।
रामचन्द्र पौडेल मुलुकको विद्यमान समस्या समाधानमा ब्रह्मास्त्र बन्न सक्नुहुन्छ, त्यस्तो ठानिएको छैन । तर, नयाँ र एक निष्ठावान् पात्रले अवसर प्राप्त गर्दा केही न केही नयाँपन दिने विश्वास गरिन्छ । पौडेलले देशका लागि कति गर्न सक्नुहोला यो अहिले आशा र अनुमानको मात्र विषय हुनसक्छ, तर देउवाले जस्तो प्रधानमन्त्री भएको पटक्कैपिच्छे कुनै न कुनै विसङ्गति र विकृतिलाई संस्थागत गर्ने काम पौडेलबाट हुने छैन, यो चाहिँ निश्चित मान्न सकिन्छ । लोकतन्त्र रक्षाका निम्ति बलिदानी हुनसक्ने क्षमता काङ्ग्रेसका सीमित नेतामा छ भने रामचन्द्र पोडेल एक त्यस्ता पात्र मानिनुहुन्छ, जसले देउवाजस्ता ‘एक्स्पोज्ड’ व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिको सिर्जना गरिनुले काङ्ग्रेसको बढोत्तरी गरेको छैन । रामचन्द्रविरुद्ध रावण शैलीमा गरिएको दादागिरीको प्रभावमा परेर निर्णय लिँदा सुशील कोइरालाजस्ता त्यागी एवम् सङ्घर्षशील नेताको पनि उचाइ बढाएको छैन । कुनै पनि प्रकारका दादागिरी अन्त्यको अपेक्षा मुलुकले गरिरहेको सर्न्दर्भमा काङ्ग्रेसका नेताहरूले काङ्ग्रेसभित्रकै दादागिरी मात्रको अन्त्य गर्नसके भने पनि त्यसले देशलाई सुमार्गको सङ्केत दिने आशा गर्न सकिन्छ ।