उपेन्द्र यादव परे नैतिक प्रश्नको घेरामा !
नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
मधेस प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको आइतबार (३० वैशाख) बसेको बेठकले गरेको निर्णयको आधारमा राजीनामा दिइएको बताइएको छ ।
जनता समाजवादी पार्टी नेतृत्वको सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएसँगै मधेस प्रदेश सरकार सङ्कटमा परेको छ । जनता समाजवादी पार्टी नेपालबाट अशोक राई नेतृत्वमा अर्को दल निर्माण भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका हुन् ।
मधेस प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका नौ, नेकपा एसका सात जना प्रदेशसभा सदस्य छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नागरिक उन्मुक्ति पार्टीका एक, नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य प्रदेशसभामा छन् ।
मधेस प्रदेश सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै उपेन्द्र यादवलाई गम्भीर नैतिक संकट एवम् दबाब परेको ठानिएको छ । मधेसमा अब एमालेको नेतृत्वमा सरकार गठन हुने प्रवल सम्भावना छ भने संघीय सरकारको उपप्रधानमन्त्रीबाट राजीनामा दिने कि अपमान ब्यहोर्दै पदमा टाँस्सिरहने भन्ने नैतिक प्रश्नको घेरामा उपेन्द्र यदव परेका छन् ।
प्रतिक्रिया