‘पहिलेको सरकार वा गृहमन्त्रीले जीवी राई भगाएको भन्नु बेतुकको कुरा’ : प्रचण्ड

‘पहिलेको सरकार वा गृहमन्त्रीले जीवी राई भगाएको भन्नु बेतुकको कुरा’ : प्रचण्ड


प्रधानमन्त्री प्रचण्डले केही दिनमा नै संसद्को गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्षनेतासँग आफू संवादमा रहेको भन्दै सोमबार (३१ वैशाख) बेलुकका अथवा मंगलबार बिहानसम्म संसद्को गतिरोध अन्त्य हुने उनले बताएका हुन् ।

आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर आफूले राष्ट्रपतिलाई भेट गरेको जानकारी दिँदै भने, ‘आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेको छ ।’

सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसदमा कुनै समस्या नहुने जिकिर गरे । उनले भने, ‘कांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैन ।’ कांग्रेसका नेताहरुसँग संसद् खुलाउने कुरामा गम्भीर रुपमा छलफल भइरहेको प्रधानमन्त्रीको भनाइ छ । सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने, ‘खासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।’

आइतबार बिहान आफूले कांग्रेसका नेताहरुसँग पनि सदन खुलाउने कुरामा छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । सामान्यतया सबै समस्याग्रस्त सहकारीका बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो भने त्यसका लागि कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको उनले जानकारी दिए ।

जीवी राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न नहुनेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘जीवी राईलाई स्वदेश ल्याउनुपर्छ भन्नेमा सरकार प्रस्ट छ । राहदानीको विषयले केही समस्या भएको छ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले वा गृहमन्त्रीले भगाएको भन्ने कुरा बेतुकको कुरा हो ।’

गृहमन्त्री रवि लामिछानेले चितवनमै शनिबार पहिलेको सरकार तथा गृहमन्त्रीले जीवी राईलाई भगाएको आरोप लगाउँदै आफू जिम्मेवारीबाट पन्छिने प्रयास गरेका थिए, यसैप्रति संकेत गर्दै प्रधानन्त्री प्रचण्डले सो प्रष्टोक्ति दिएका हुन् ।

photo: rss