यथाशक्य सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरू ग्राहकलाई उपलब्ध गराउने दाबी गर्ने नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरिएको जनाएको छ ।
बताइएअनुसार कम्पनीले समर अफरअन्तर्गत गत असार २७ देखि लागू हुने गरी पोस्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटीटीएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्न सक्ने अवसर प्रदान गरेको हो । यसअन्तर्गत पोस्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिनेछ । यसैगरी सोही रकममै एक सय मिनेटसम्म कम्पनीबाहिरका अन्य राष्ट्रिय सेवाप्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिनेछ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देशसमेत पठाउन सकिन्छ ।
त्यस्तै पोस्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउनेछन् । यसमा १ जीबीबराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिनेछ ।
यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइनेछ । यस छुट योजनामा २ जीबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिनेछ ।
यसैगरी संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको जनाएको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयुजी समूहबाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवाअन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिनेछ ।
त्यस्तै, प्रिपेड वा पोस्टपेड दुवै मोबाइलमा चार सय रुपैयाँको संस्थागत प्याकेज लिँदा समूहबाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबीको इन्टरनेट र १ सयवटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिनेछ भने ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूहबाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबी इन्टरनेट र सयवटा सन्देश तथा कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढ सयवटा सन्देश पठाउन र कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।
यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूहबाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरू फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र अढाई सय सन्देशको सुविधा र कम्पनीबाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । उपरोक्त सबै संस्थागत प्याकेजहरूमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरूलाई उपलब्ध हुनेछ ।
यसैगरी कम्पनीको भ्वाइस सेवासहितको उच्च गतिको एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरू १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
२५ एमबीपीएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।
यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षका लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निःशुल्क उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
एफटीटीएच सेवामा विगतको स्प्रिङ अफरअन्तर्गत प्रदान गरिएका ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरू यथावत् कायम गरिएको छ । यद्यपि ती सेवामा निःशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरू केही समयका लागि बन्द गरिएको र उल्लेखित छुटहरू ९० दिनसम्मका लागि लागू गरिनुका साथै यसअघि स्प्रिङ अफरअन्तर्गत प्रदान गरिएका अन्य छुटलाई निरन्तरता दिइएको पनि जानकारी दिइएको छ ।
प्रतिक्रिया