तरकारीमा ७० प्रतिशतसम्म मूल्यबृद्धि, नियामक निकाय मौन

तरकारीमा ७० प्रतिशतसम्म मूल्यबृद्धि, नियामक निकाय मौन


–छविलाल बगाले
बर्षाको कारण देखाएर तरकारीमा ७० प्रतिशतसम्म मूल्य बृद्धि भएको छ । मूल्यबृद्धिलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्वभाविक भन्दै गर्दा उपभोक्ताले भने त्यसको ठाडै बिरोध गरेका छन् ।

केही दिनयता कालिमाटी तरकारी बजारमा ७० प्रतिशतसम्म तरकारीको मूल्यबृद्धि भएको छ । यसप्रति आम उपभोक्ताहरु चिन्तित छन् । अहिले काठमाडौंमा गोलभेंडा, घिरौला, बोडी, गाँजर, मूला, हरियो खुर्सानी, करेलालगायतका हरिया तरकारीमा अच्चाकली मूल्यबृद्धि भएको उपभोक्ताको गुनासो छ । उनिहरु भान्सा मंहगो बन्दै गएकोप्रति चिन्तित छन् ।


व्यापारी पनि तरकारीको भाउ बढ्नुमा विषादी आतंक र बर्खा सिजनलाई नै दोष दिन्छन् । भारतबाट तरकारी नआएको र तराईमा लगाइएको तरकारी डुबानमा परेकोले काठमाडौंको माग धान्न हम्मे हम्मे परेको व्यपारीको भनाई छ ।

आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । आकासिँदो मूल्यवृद्धिलाई रोक्न र जनजीवनलाई सहज बनाउन जिम्मेवार निकाय नै गम्भिर नभएको प्रति उपभोक्ता निराश छन् । अहिले तरकारीमा मात्रै होइन् फलफूलमा समेत मूल्यबृद्धि भएको गुनासो उपभोक्ताको छ ।


असार साउनको समयमा हरियो तरकारीको मूल्य बढ्नु स्वभाविक भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठको तर्क छ । तर, किसानले भने श्रेष्ठले भनेजस्तो मूल्य लिएका छैनन् । कृषि उत्पादन र कृषि क्षेत्रको नियामक निकाय कृषि मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेका विभाग हुन् । यी निकायले प्रभावकारी रूपमा अनुगमन र नियन्त्रण नगर्दा तरकारीमा उपभोक्ता नराम्रोसँग ठगिएका हुन् ।

मूल्यको विश्लेषण गर्ने काम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागले पनि प्रभावकारी रूपमा काम गरेको छैन । विभागले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि व्यवसायीलाई कानूनी दायरामा ल्याउन सकेको छैन ।सरकारले खुद्रा तरकारी पसलमा अनुगमनको सुरुवात नै नगरेका कारण पनि व्यापारीको मनोमानी बढ्दा उपभोक्ता संधै निरिह हुनु परिरहेको हो ।

तरकारीको मूल्य आकाशिँदा सरकार चुपचाप बस्नु दुखद् भएको अधिकारकर्मीको भनाई छ । स्वभाविक रुपमा बर्खाको मौसममा तरकारी उत्पादन कम हुने र यसैको मौका छोपेर किसानले मूल्य खोज्ने गगरेकोले पनि तरकारीको मूल्य बढि हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भनाई छ । यसरी उपभोक्ताको डाढ सेक्ने गरी मूल्यबृद्धि हुँदा सरकारले चुप बस्दा सर्वसाधारणले भने चासो ब्यक्त गरेका छन् ।