ठेकेदारको लापरबाहीले अनिर्णयको बन्दी बन्यो गोलाघाट पुल, सरकारद्धारा ठेक्का रद्द

ठेकेदारको लापरबाहीले अनिर्णयको बन्दी बन्यो गोलाघाट पुल, सरकारद्धारा ठेक्का रद्द


ठूला विकास आयोजना एकदिन मात्रै ढिला हुँदा राज्य र सम्बन्धित निर्माण कम्पनीलाई लाखौं रुपैयाँ नोक्सान हुने गर्छ । नोक्सानबारे दुवैथरी जानकार हुँदाहुँदै पनि निर्माण आयोजना अलपत्र बन्ने धेरै उदाहरण नेपालमा छन् ।

यस्तै मध्येको एक उदाहरण हो, चितवनस्थित गोलाघाट पुल । रमण कन्स्ट्रक्सनको लापरवाहीका कारण यो पुल अलपत्र अवस्थामा पारेको छ । ठेक्का लागेको ७ बर्षसम्म पनि काम सुरु नभएपछि सडक विभाग अन्र्तगतको हुलाकी राजमार्ग निर्देशनालयले निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गरेको आयोजना निर्देशक अशोक तिवारीले बताए । उनका अनुसार ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार निर्माण कम्पनीविरुद्ध कठोर भएको हो ।

रमण–पप्पु जेभीले २५ असार २०६९ मा हुलाकी राजमार्ग अन्तर्गत चितवनको भरतपुर महानगरपालिका गोलाघाटमा रहेको नारायणी नदीको पुल निर्माण गर्ने जिम्मा पायो । निर्माण कम्पनीले २४ असार २०७३ मा यो पुलको निर्माण सक्नुपर्ने थियो । तर, तोकिएको समय सकिएको तीन वर्षसम्म पनि पुल निर्माणको काम हुन नसकेको स्थानीयको गुनासो छ । हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा पनि छ । तर नियामक निकायले नै चासो नदिदाँ गोलाघाट पुल अनिर्णयको बन्दी बनेको छ । हुलाकी राजमार्ग निर्देशनालय पनि ठेक्का पाएको रमण कन्स्ट्रक्सनको लापरवाहीका कारण निर्माण अलपत्र बनेको दावी गर्छ । काम नगरेपछि ठेकेदारले पाएको ठेक्का तोडेको निर्देशनालयको दावी छ ।

पुल निर्माण अघि बढाउन निर्देशनालयले पटक–पटक काम सुरु गर्न निर्देशन दिँदा पनि अटेर गरेको सरकारी कर्मचारीहरु बताउँछन् । काम नगरेपछि सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले १६ असारमा सम्झौता खारेज गरेको छ । निर्देशनालयले सार्वजनिक सूचना निकाल्दै सार्वजनिक खरिद नियमावली ऐन २०६३ को दफा ७ अनुसार ठेक्का अन्त्य गरेको जनाएको छ । पुल निर्माणको विषय सर्बोच्च अदालतमा पुगेको निर्देशनालयले जनाएको छ ।

धरहरा निर्माण पनि कछुवा गतिमा
पुल निर्माणमा भ्रष्टाचार गर्ने नियत प्रष्ट देखेपछि निर्देशनालय आक्रामक बनेको छ । पेश्की रकम खाएर पुल नबनाएपछि कालोसूचीमा सिफारिस रमण कन्स्ट्रक्सनले धरहराको निर्माण पनि अलपत्र पारेको छ । गत असोज २४ गते काम सुरु गरेको जिआइइटिसी रमण जेभीले सम्झौताअनुसार अहिलेसम्म धरहराको १० तलाको स्ट्रक्चर तयार गरिसक्नुपथ्र्यो ।

ठेक्का सम्झौता गरेको ७ दिनभित्र काम सुरु गर्नुपर्ने, ६ महिनाभित्र अपर बेसमेन्ट स्ल्याब र अण्डरगाउण्ड पार्किङ तयार गर्नुपर्ने र ९ महिनाभित्र टावरको १० तलासम्म ठड्याउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । तर, निर्माण सुरु गरेको ९ महिना वितिसक्दा पनि काम भने कछुवा गतिमा छ ।