चेम्बर पदाधिकारी र साउदी अरेबियाका राजदूत सुलिमानबीच भेटवार्ता

चेम्बर पदाधिकारी र साउदी अरेबियाका राजदूत सुलिमानबीच भेटवार्ता


नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धिका विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालय जमलमा बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एवम् लगानीको विकासका साथै प्रगाढ एवम् सुदृढ सम्बन्ध कायम गर्ने भूमिका निर्वाह गर्न सुलिमानसँग आग्रह गरेका छन् ।

सो अवसरमा उनले दुई देशका उद्यमी–व्यवसायी बीचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरेर नयाँ व्यावसायिक अवसरहरुको संम्भावना पहिचान गर्नुपर्ने कुरामा जोड दिएका थिए । आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भैसकेको जानकारी दिँदै उनले नेपालमा व्यवसाय एवम् लगानीको उपयुक्त वातावरण भएको दाबी गरे । अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागेको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबीयाबाट समेत सहभागिताको लागि अनुरोध गरे ।

नेपालका लागि साउदी अरबियाका राजदुत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एवम् आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताए । उनले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै दुई देशका उद्यमी–व्यवसायी बीचमा द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गर्दै नयाँ व्यावसायिक अवसरहरूले संम्भावना पहिचान गर्नसक्ने उल्लेख गरे ।

ज्ञातव्य छ, साउदी अरबिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । साउदीमा १२ दशमलव ९ प्रतिशत नागरिक बेरोजगार रहेकोले निजी क्षेत्रका स–साना कम्पनीमा समेत साउदी नागरिकलाई अनिवार्य रोजगारी दिनुपर्ने नीति लिएको छ  । आगामी २५ वर्षपछि झन्डै एक करोड साउदी नागरिकले अवकाश पाउने स्थिति रहेकाले सामाजिक सुरक्षा साउदीमा ठूलो चुनौती बनेको छ ।