भेरी–बबईको जिम्मा रमण कन्स्ट्रक्सनलाई किन ?

भेरी–बबईको जिम्मा रमण कन्स्ट्रक्सनलाई किन ?


सरकारले भेरी बबई ड्राइभर्सन आयोजनाको ठेक्का रमण कन्स्ट्रक्सनलाई दिन लागेको छ ।

निर्माण कम्पनी रमण कन्स्ट्रक्शनले गर्ने कामको गुणस्तरका विषयमा प्रश्न उठिरहेका बेला सरकारले भेरी–बबईको बाँकी काम गर्न ठेक्का दिन लागेको हो ।

निर्माण कम्पनी रमणले हुलाकी राजमार्ग, धरहरालगायतका काम गरिरहेको छ । कामै नगर्ने कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाउँदा जोखिम बढ्ने सरोकारवालाको गुनासो छ ।

जलस्रोत तथा सिंचाई विभाग अन्तर्गतको भेरी–बबई ड्राइभर्सन आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमणलाई नै दिने गरी काम अघि बढाएको हो । सडक विभागले कालोसूचीमा राख्ने तयारी गरिरहेका बेला ठूला आयोजना जिम्मा लगाउनु गलत भएको सरोकारवालाहरुको तर्क छ । तर रमणले प्रक्रिया पु¥याएर आएकोले उसैले ठेक्का पाउने दावी भेरी बबई ड्राइभर्सन आयोजनाको छ ।

८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले १ अर्ब ८४ करोड कम रकममा टेन्डर हालेको आयोजनाका एक कर्मचारीले बताए । उनकाअनुसार रमणले चीनको ग्वाङ्डोन–युनाटियनसँग मिलेर परियोजनामा टेन्डर हालेको छ । आयोजनाको सुरुङको गत चैतमा नै ‘ब्रेक थ्रु’ भएको थियो । विभागले दोस्रो प्याकेजमा बाँध, विद्यृत गृह, सर्ज टयांक निर्माण गर्ने गरी रमणलाई सम्झौताका लागि बोलाएको छ ।

रमणले हुलाकी राजमार्ग अन्तरगत नारायणी नदीमाथि बनाउनुपर्ने पुल समेत बनाउन सकेको छैन् भने धरहरा निर्माण पनि कछुवा गतिमै छ । सडक विभागले कालोसुचीमा राख्ने तयारी गरिरहेका बेला रमण कन्सट्रक्सन भने सडक विभागलाई नै विपक्षी बनाएर अदालत गएको छ ।

यो मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ । हरेक क्षेत्रमा रमणको काम सन्तोषजनक नभइरहेका बेला राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाउँदा जोखिम बढ्ने आयोजनाका अधिकारी नै बताउँछन् । रमणले भेरी–बबईमा अन्य निर्माण कम्पनीले भन्दा कम रेटमा ठेक्का हालेकोले उसैले ठेक्का पाउने पक्का छ ।