मायालुझैँ प्यारो होस्

मायालुझैँ प्यारो होस्


■ शोभा काफ्ले खतिवडा

कुनै किल्ला नढलून् कदापि कसैगरी पनि मेरो यो स्वाभिमानका !
यी सिमाना पनि झनै नढलून् मेरो प्यारो जन्मिएको प्रिय भूमिका !!

पुगून् खोज्न बरु किल्ला र काँगडा हराएको सीमा जन्मभूमिका !
तुष्टि दार्जिलिङ सिक्किमतिर पनि छन् कि माटो यस भूमिका !!

यो जीवन हो यसलाई हामी साराले हाँसेर बाँच्न दिऔँ र सिकौँ !
देशलाई पनि बचाएर आफू पनि खुसी र सुखी हरपल बनौँ !!

मायालुको अँगालोझैँ न्यानो होस् यो प्रिय देशको माया !
पिरतिका भाखा जस्तै सुन्दर बनून् यस देशका हरेक पाटा !!

सुदृढ होस् न हामी जन्मिएको प्यारो देश र यसको धरातल पनि
आभाष यो मनमा मायालुको जस्तो सधैँभरि नै रहिरहोस् अनि !!

छिमेकीको समृद्धिबाट धेरै कुरा हामीले पनि त सिक्नुपर्छ !
देश बनाउने क्रममा पर्दाखेरि सारा जगतसित झुक्नु पनि पर्छ !!

एकपटक युरोप पुगेका जंगले कति धेरै सिकेर आए !
हजारपटक जगत डुलेका हामी ऐनाझैँ संसार हेरेर बस्यौँ !!

घामले दिने उज्यालो मायाको जस्तो न्यानो प्रभाव रहोस् !
चन्द्र यो मुटुभरि पनि तिम्रो शान्त मायालु आभाष भइरहोस् !!

हरेक नेपालीले हरपल गौरवबोध गरून् यस सुन्दर देशमा !
न्याय छैन भनेर देशमा कोही कहिल्यै नमरून् कुनै परिवेशमा !!

उठोस् स्वाभिमान जागृत भएर सारा हामी नेपालीको !
बनोस् राष्ट्र जीवन्त र सुन्दर कला र संस्कृतिको परिवेशको

यो माटोको बास्ना पनि मीठो चलोस् मगमग बनेर !
यो राष्ट्रको समृद्धि विकास होस् है सधैँभरि नै भनेर !!

उठोस् लेक–बेंसी अनि जागोस् हिमाल, पहाड !
मधेसबाट आओस् अनौठो गौरवको नौलो आवाज !!

पिरतीका भाकामा पनि अब देशको कथा गुन्जिरहोस् !
मायालुका आँखामा मायाझैँ सुन्दर शान्त हरपल यो देश होस् !

छाडेर नजाउन् कुनै वर्ग अब यो पावन आफ्नो देशलाई !
पसिना खलखल बगाउन् देशको विकास र समृद्धिलाई !!

हरेक नेपालीलाई अब नेपालीले नै राम्ररी चिनून् र बुझून् !
पीडा पोख्न नेपाली रुँदै कतै कसैसित कहीँ पनि नजाऊन् !!

यहाँ नारी, छोरीहरू छाती फुकाई हिँडडुल गरून् !
कला शिक्षा संस्कारले नारी–पुरुष सजियून् !!

अग्रजको जीवन कदापि पीडामय नबनोस् !
जीवन पाउनुको गौरव हरेक नागरिकले देशमा गरोस् !!

पराश्रित बनेर देशमा कसैको जीवन नबितोस् !
सारा जनताको पीडा सत्तामा बस्नेले बुझोस् !