डा. बाबुराम भट्टराईलाई बधाई छ । अप्ठ्यारो र महत्त्वपूर्ण समयमा उहाँ प्रधानमन्त्री बन्नुभएको छ । जुन उद्देश्यका साथ विगतमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथको सरकार बन्यो त्यो सरकारले ती उद्देश्यहरू पूरा गर्न सकेनन् । डा. बाबुराम भट्टराईको शैक्षिक डिग्रीको आधारमा उहाँको प्रधानमन्त्रीकाल उपलब्धिपूर्ण हुने धेरै नेपालीले आशा गरेका छन् तर यस सम्बन्धमा म भने अहिल्यै केही प्रतिक्रिया दिने पक्षमा छैन । मैले देखेँ मलेसियाका डा. माहाथिरले त्यो मुलुकको अनुहार फेरिदिए । छिमेकी मुलुक भारतकै कुरा गर्दा पनि डा. मनमोहन सिंहले त्यो मुलुकको धेरै प्रगति गरेर देखाइदिए तर मैले यो पनि देखेँ कि हिटलरलाई लाखौँ ज्यूजहरूलाई होलेकोस्ट ग्यासच्याम्बरमा हालेर मार्ने योजना गर्न सिकाउने पनि झन्डै पाँचजना पीएचडी डाक्टरहरू नै रहेछन् । ती डाक्टरहरूको नाम र फोटो अहिले पनि इजरायलको होलोकोस्ट भनिने म्युजियममा देख्न सकिन्छ । त्यसैले डाक्टर हुनु नै त्यस व्यक्तिले सकारात्मक काम गर्छन् भन्ने प्रमाण हुन सक्दो रहेनछ । यसको प्रमाण भनेको देशका जनताको जीवनस्तर उकासेपछि मात्र मान्न सकिने कुरा रहेछ । मलाई आशा छ, बाबुराम भट्टराईले आफू डाक्टर भएको प्रमाण नेपालमा शान्ति, सुशासन र प्रगति दिएर देखाउनुहुनेछ । म यसबारेमा थप आफ्नो विचार विस्तारमा पछि लेख्नेछु तर अहिले म यसबारे भन्दा पनि काङ्ग्रेस-एमालेले रामचन्द्र पौडेलको नेतृत्वमा सरकार बनाउने कुरामा गरेको ज्यादै कमजोर रणनीति देखेर चकित भएकोबारे कलम चलाउँदै छु ।
यसअघि माधव नेपालको एमाले-काङ्ग्रेस गठबन्धन सरकार थियो र त्यसलाई विश्व समुदायबाट पनि राम्रै सहयोग भइरहेको थियो । त्यस सरकारलाई ढाल्न त माओवादी कारण बने । त्यसपछि माओवादी-एमालेको गठबन्धन भयो । त्यसमा पनि कमसेकम एमाले संलग्न थियो र प्रधानमन्त्री नै एमालेका भएकाले त्यसलाई एमाले पार्टीले आफ्नो उपलब्धि नै मान्नुपथ्र्यो तर त्यस सरकारलाई पनि माओवादीले भन्दा पनि माधव नेपाल, केपी ओली र काङ्ग्रेस भएर आफैं ढालिदिए । अहिले बनेको सरकार त एमाले र काङ्ग्रेस दुवै सरकारमा नरहेको एकप्रकारले भन्ने हो भने माओवादीको एकलौटी प्रकारको सरकार बनेको छ । मैले बुझ्न नसकेको कुराचाहिँ के हो भने यदि माओवादीको प्रधानमन्त्री बनाएर काङ्ग्रेस-एमालेलाई बाहिरै बस्न मन थिएन भने फेरि झलनाथ खनालको सरकार उनीहरूले ढाल्न किन खोजेका त ? के अहिलेको नतिजालाई काङ्ग्रेसको माथिल्ला नेताहरूको रणनीति सफल भएको मान्न मिल्छ ? के आफ्ना उम्मेदवार खडा गरेर प्रधानमन्त्री बनाउन नसक्नु पार्टीगत हिसाबले राम्रो कुरा हो त ? मेरो विचारमा त, यो काङ्ग्रेसको भयङ्कर असफलता हो जसले आउने दिनमा त्यो पार्टीलाई ज्यादै ठूलो हानि गर्नेवाला छ । काङ्ग्रेसका लागि अहिलेको भन्दा त झलनाथकै सरकार लाभदायक हुन सक्थ्यो ।
शायद अब यही सरकार चुनावसम्म पनि जान सक्ला । यो गठबन्धनको दुवैसँग हतियार छ । तराईको पार्टीहरूसँग पनि भूमिगत हतियारधारीहरू पछाडि छन् भने माओवादीसँगको त कुरै नगरौँ । उससँग त देखिने-नदेखिने फौज नै छ । अब ती दुई पार्टीसँगै आए र यदि चुनावमा गए भने त्यतिबेला काङ्ग्रेसले र एमालेले विगतको सुरक्षा र डरकै कारणले चुनाव हार्नुपरेको अवस्थामा अब झन् के प्रभाव पर्ला त ? जुन काङ्ग्रेस र एमालेले त्यही हतियार नबुझाई हामी माओवादीको सरकार बन्न दिँदैनौँ भन्दै थिए अब तिनीहरू नै सरकारमा पुगेपछि अब के एमाले मधेसवादी दलले यिनका हितमा काम गर्ला ?
म राजनीतिक व्यक्ति होइन तर यतिचाहिँ बुझेको छु कि कुनै पनि राजनीतिक दल आफ्नो एजेण्डा लागू गराउन सरकारमा पुग्नुपर्ने पनि हुन्छ । अहिले काङ्ग्रेस-एमाले मिलेको समयमा मधेसवादी दल मिलाएको भए बहुमत पुगिहाल्थ्यो । मधेसवादीहरूले आफ्नो पार्टीको नाममा लोकतान्त्रिक भन्ने शब्द झुन्ड्याएका छन् । लोकतान्त्रिक भन्ने शब्द झुन्डिएपछि उनीहरू माओवादीको नजिक हुनै सक्दैनन् । जब लोकतान्त्रिक भनिएका मधेसवादी दलको सहयोगमा सरकार बन्ने सम्भावना थियो र शायद त्यही भएरै होला मधेसवादी दलले चुनाव हुने दिनको बिहान एघार बजे मात्र माओवादीसँग अन्तिम निष्कर्षको मिटिङ राखेका थिए भनेे त्यति समयसम्ममा पनि काङ्ग्रेसले उनीहरूसँग निर्ण्ाायक वार्ता गर्न किन सकेन ? तिनलाई मिलाएर आफ्नो ठाउँमा ल्याउन किन सकेन ? किन आफ्नो प्रतिकूल हुने गरेर सरकार बनाउने अवसर प्रदान गर्यो ? हो, यहीँ देखिएको छ काङ्ग्रेसको निर्णयकर्ताहरूको त्रुटि ।
अहिले यो प्रश्नहरूले मेरो मनमा घर बनाइरहेको छ कि काङ्ग्रेसले किन झलनाथलाई हटाएर माओवादीलाई प्रधानमन्त्री बन्ने अवसर दियो । यो देखेर पनि म त छक्कै परेको छु कि आखिर काङ्ग्रेसमा कस्ता भिजन भएका नेताहरूले पार्टी हाँकेका छन् ? म सधैं भन्दै आएको छु कि गिरिजाप्रसाद कोइरालाले आफ्नो कद जति बढाए पनि यो मुलुकलाई भने ध्वस्त बनाएकै हुन् । परिवर्तनको चाहना नेपालीमा थियो । परिवर्तनका कुरा बीपीले गर्दा पनि नेपालीले साथ दिए र माओवादीले गर्दा पनि साथ दिए । गिरिजाकै कारण काङ्ग्रेस गुट-गुटमा विभाजन भयो । उनकै कारणले राजसत्ता गुम्यो । उनकै कारणले देश क्षेत्रीय, जातीय, रूपमा विभाजन भयो । उनकै कारणले माओवादी युद्ध चरम सीमामा पुग्न सफल भयो । उनकै पालामा सबैभन्दा बढी भौतिक संरचनाहरू यो मुलुकमा ध्वस्त भए । उनकै नेतृत्वमा प्रहरी, निजामती र संवैधानिक पदसमेत चरम राजनीतिक दलदलमा फस्न पुग्यो । गिरिजाप्रसाद कोइरालाको अर्को खतरनाक उत्पादन शेरबहादुर देउवा पनि हुन् । उनी पनि स्वार्थका लागि जे पनि बोल्छन्, जे पनि गर्छन् । त्यसमाथि कृष्णप्रसाद सिटौलाजस्ता फटाहा प्रवृत्तिका व्यक्तिहरू पनि गिरिजाप्रसाद कोइरालाकै कारणले त्यो पार्टीको उच्च तहमा पुगेका छन् । काङ्ग्रेसका सभापति भन्नेहरू पनि गिरिजाप्रसाद कोइरालाकै पछि लाग्नेहरू नै भएका छन् । वास्तवमा भन्ने हो भने काङ्ग्रेस पार्टीबाट सबैभन्दा बढी फाइदा लिने गिरिजाप्रसाद कोइराला र कोइराला परिवार हुन् भने सबैभन्दा पीडित हुने नेपाली जनता हुन् । अहिले माओवादीहरूलाई प्रधानमन्त्री बन्न सफलता मिलेको पनि कोइराला परिवारको भित्री रणनीतिकै कारणले हो किनकि उनीहरू कुनै हालतमा शेरबहादुरलाई त्यो पद दिन चाहँदैनथे र आफ्नो गुणगान गाउने रामचन्द्र पौडेललाई त्यो पद दिन वा कसैलाई पनि नदिन चाहिरहेका थिए ।
यी सब देख्दा मलाई अचम्म यो कुरामा लाग्छ कि सुशील कोइरालाजस्ता गुटमा विश्वास गर्ने, शेरबहादुरजस्ता पदमा विश्वास गर्ने, सिटौलाजस्ता षड्यन्त्रमा विश्वास गर्ने र रामचन्द्र पौडेलजस्ता केवल कोइराला परिवारको छाताभित्र रहेर मेरो विकास हुन्छ भन्ने विश्वास गर्ने नेताहरूको मुनि अरू बुद्धिविवेक भएका नेताहरू कसरी त्यो पार्टीमा अटाइरहेका छन् ? के प्रदीप गिरीलाई लाग्छ कि कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसलाई महान् पार्टी बनाउनेछन् । के गगन थापालाई लाग्छ कि सुशील कोइराला महान् नेतृत्व दिन्छन् ? के महेश आचार्यलाई वा लक्ष्मण घिमिरेलाई लाग्छ कि शेरबहादुर देउवाले त्यो पार्टीमा ज्यान फुक्छन् ? के खुमबहादुरलाई लाग्छ कि रामचन्द्र पौडेलले काङ्ग्रेसलाई नेपालमा जिताउँछन् ? यदि लाग्दैन भने फेरि किन उनीहरू ती नेताहरूलाई हटाएर आफू कमाण्ड लिन आँट गर्दनन् ?
अहिले काङ्ग्रेसले आफ्नो उम्मेदवारलाई खडा गरेर प्रधानमन्त्रीको उम्मेदवारमा जिताउन नसकेको असफलताले काङ्ग्रेस पार्टीलाई अब जनस्तरमा थप कमजोर बनाउनेछ । यो समयमा उनीहरूले सरकार बनाउन सक्नुपथ्र्यो र बन्थ्यो पनि । एमालेले प्रधानमन्त्रीको पदमा दाबीसमेत नगर्नु र काङ्ग्रेसलाई साथ दिनु भनेको चानचुने कुरा थिएन तर त्यो अवसर अक्षम शर्षिस्थ भनिने नेताहरूको कारणबाटै गुमेको हो । यो किन गुम्यो भन्दा म व्यक्तिगत विचारमा त यही भन्छु कि भिजन नभएका पार्टी सभापति, महामन्त्री र उपाध्याक्षलगायत संसदीय दलका नेता भएका कारण गुम्यो । बाँकी सदस्य त तिनका आदेशअनुसार टेबुल ठोक्ने मात्र न हुन् । काङ्ग्रेसले सरकार बनाउन नसक्नुमा चारजनाको मुख्य कमजोरी देख्छु । सुशील कोइराला जसलाई आफ्नो गुट मात्र प्यारो छ । शेरबदादुर देउवा जसलाई पार्टी र देशभन्दा प्रधानमन्त्री प्यारो छ । रामचन्द्र पौडेल जसलाई पार्टीभन्दा कोइरालाको आशीर्वादमा विश्वास छ र कृष्णप्रसाद सिटौला जसलाई षड्यन्त्र गरेर आफ्नो उचाइ बढाउनु छ । यिनीहरूको आपसी स्वार्थ, द्वन्द्व, महत्त्वाकाङ्क्षा । मर्ूखताले नै यो असफलता हासिल भएको हो ।
अब मेरो प्रश्न अरू काङ्ग्रेस कार्यकर्तालाई यो छ कि तपाईंहरूले यो असफलताको जवाफ कोहीसँग माग्नुपर्छ कि पर्दन ? के तपाईंहरू सधैं माथिल्ला तहबाट भएका गल्ती कमजोरीहरूलाई साथ दिँदै, त्यसको ढाकछोप गर्द कपाल फुलाएर राजनीतिक जीवनबाट अवकाश लिने मुडमा हुनुहुन्छ ? त्यतिबेला तपाईंहरूलाई इतिहासले सोध्ने छ कि, जागिर खानेले तलब पाए होलान्, मजदुरी गर्नेले ज्याला पाए होलान्, तपाईंहरूले पूरै जीवन काङ्ग्रेसमा समर्पित गरेर के पाउनुभयो ? कसैले लाउडा केसमा भ्रष्टाचार गर्छन् तपाईंहरू सबैले त्यसको पाप बोक्नुपरेको छ, सिटौला र कोइराला परिवारले सुडान घोेटाला गराउनेछन् । तपाईंहरू सबैले त्यसको पनि अपजस बोक्नुपरेको छ । माथिल्ला भनिएका नेताहरूले काङ्ग्रेस फुटाउँछन् । तपाईंहरू आफ्नै साथीहरूसँग दुश्मनी गर्न बाध्य हुनुभएको छ । मेरो यहाँहरूलाई के भन्नु छ भने कहिलेसम्म तपाईंहरू यस्तै यस्तै शर्षिस्थ भनिने नेताहरूबाट गरेका गल्तीहरूको सजाय भोगिरहनुहुन्छ ? के तपाईंहरू पनि त्यस पार्टीमा राजनीति गरेर देशका लागि गोकर्ण विष्टले दिएझैं केही योगदान दिन चाहनुहुन्न ? यदि चाहनुहुन्छ भने जबसम्म तपाईंको पार्टीले उठाएका उम्मेदवार हार्द जान्छन् वा गठबन्धन सरकार तपाईंहरूको माथिल्लो नेताहरूले ढाल्दै जान्छन्, त्यो दिन कहिले आउला त ?
अन्तमा मलाई यति भन्नु छ, काङ्ग्रेसको निर्णय तहमा बसेका नेताहरू त्यस पदका लागि सक्षम छैनन् भन्ने एक प्रमाण दर्जनौँपटक चुनाव हुँदा पनि आफ्नो उम्मेदवारलाई जिताउन असमर्थ भएबाट प्रस्ट बुझ्न सकिन्छ । वास्तवमै काङ्ग्रेसमा नयाँ मानिस माथि आउन जरुरी छ तर त्यसका लागि वर्षौंदेखि कोइराला परिवारका छेउछाउमा हरुवाचरुवाका झैं आफूलाई प्रस्तुत गर्ने स्वभावमा तलकाले परिवर्तन ल्याउनुपर्छ । पन्ध्र वर्ष अगाडि आएको माओवादी पार्टीबाट दुईजना प्रधानमन्त्री बनिसके । काङ्ग्रेसमा माथिल्ला पदमा बस्नेहरू भेन्टिलेटरमा छउञ्जेल पनि पद छोड्न तयार छैनन् र न तिनमा आफ्नो पार्टीको हितमा निर्णय गराउने नै तागत छ । आफ्नै पार्टीको प्रगति गराउन नसक्नेले देशको प्रगति के गर्लान् ? काङ्ग्रेसका तल्ला सदस्यहरूले अब माथिल्ला नेताहरूको मूल्याङ्कन गर्न सुरु गर्नुपर्छ नत्र उनीहरूको जीवन पनि त्यसै यही गल्ली, चौबाटो र ढोकाढोकामा धाउँदैमा बित्नेछ । काङ्ग्रेस पार्टीमा समस्या तल होइन माथि छ ।
प्रतिक्रिया