यसकारण प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा

यसकारण प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा


आफुलाई पार्टीले भूमिकाविहीन बनाएको भन्दै नेकपा नेता प्रभु साहले प्रदेश २ को अध्यक्षबाट राजीनामा दिएका छन् । असन्तुष्ट नेता साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

नेता साह स्थायी कमिटी सदस्यका प्रवल दाबेदार थिए । तर पार्टीले कमिटीमा नपारेपछि उनी असन्तुष्ट बन्दै आएका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेका नेता साहले पार्टी नेतृत्वले बाइपास गरेको गुनासो गरेका छन् । ‘प्रदेश कमिटी सदस्यहरुको चयनदेखि जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने काम भएको हो ।’ उनले भने, ‘पार्टी नेतृत्वले कुनै सल्लाह नै नगरी आफूखुसी काम ग¥यो । जुन विषयले दुःखी बनाएको छ ।’

अध्यक्ष साहका अनुसार उनीसँग कुनैपनि सल्लाह र सम्बाद नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएको छ । यस प्रकरणलाई साहले पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशन भएको बताउँछन् । ‘यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ।’ उनले भने, ‘ काम गर्ने वातावरण पार्टी नेतृत्वले बनाएन, उल्टै पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएकोले राजीनामा दिनुपरेको हो ।’