कर्णसँग भिड्दै देउवा !

कर्णसँग भिड्दै देउवा !


डा. शेखर कोइराला शेरबहादुर देउवासँग भिड्ने तयारी गरिरहँदा देउवा भने डडेल्धुरा काङ्ग्रेसका सभापति तथा प्रदेश सभा सदस्य कर्ण मल्लसँग भिड्दै छन् । देशभरिका युवामाझ लोकप्रिय कर्ण मल्ल डडेल्धुरा र सुदूरपश्चिमकै बलियो युवा नेता मानिन्छन् । शेरबहादुर देउवाले समेत संसद् र पार्टीको आन्तरिक निर्वाचन जित्नका लागि कर्णको सहयोग लिनुपर्ने अवस्था छ र, यसअघिका हरेक निर्वाचनमा उनले देउवालाई सघाउँदै आएका पनि हुन् । तथापि आगामी महाधिवेशनभन्दा पहिले नै कर्ण मल्ललाई पार्टीबाट पन्छाउने योजना आरजु राणाको सहयोगमा देउवाले बनाएका छन् ।

कर्ण मल्ललाई पार्टीबाट हटाउनुअघि जिल्लामा उनका सहयोगीहरूलाई पार्टीबाट निकाल्ने योजनाअनुसार नै शुरुमा जिल्ला महिला सङ्घको अध्यक्षबाट कमला विष्टलाई हटाइयो र विवाद बढ्दै गएपछि सङ्गठनको साधारण सदस्यबाट समेत तीन वर्षका लागि उनलाई निष्काशन गरिएको छ । डडेल्धुराको तरुण दल, नेविसङ्घ, किसान सङ्घ, शिक्षक सङ्घ र महिला सङ्घ कर्ण मल्लको पक्षमा उभिएकोले उनीहरूलाई पहिले आफ्नो पक्षमा आउन आग्रह गर्ने र नमानेपछि पदमुक्त गरिदिने रणनीतिक योजनाअनुसार जिल्ला सङ्गठनका प्रमुखहरूलाई बूढानीलकण्ठमा बोलाउँदै फकाउने र धम्क्याउने कार्य शुरु गरिएको छ । जनवर्गीय सङ्गठनलाई ध्वस्त बनाइदिएपछि कर्ण कमजोर बन्ने ठानिएकोले त्यसको प्रारम्भ महिला सङ्घबाट भएको हो ।

निर्वाचित सभापति कमला विष्टलाई विधानविपरीत पदमुक्त गरेर आरजुकी विश्वासपात्र कलावती बोहोरालाई उक्त जिम्मेवारी दिएपछि कलावतीले पार्टी कार्यालयको ढोका फुटाएर महिला सङ्घको नाममा बैठक राखेकी थिइन् । कार्यालय सचिव रामबहादुर विष्ट कार्यालय पुग्दा ढोका फुटाएर भित्र पसेको पाएपछि उनले कलावतीलाई किन ढोका फुटाएको भनी प्रश्न मात्र गर्दा उनीसँग भएका १०–१५ जना महिला विष्टमाथि जाइलागेका थिए ।

त्यसपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा कलावती बोहोरा, सरस्वती खड्का र वसन्ती भण्डारीविरुद्ध उजुरी दिएका थिए । तर, उक्त उजुरीमाथि प्रहरीले कुनै कारबाही प्रक्रिया अघि बढाएन । त्यसको भोलिपल्ट आरजुको निर्देशनमा कलावतीले विष्टविरुद्ध आफूहरूलाई हातपात गरेको भन्ने उजुरी प्रहरीमा दर्ता गरिन् । कलावतीको उजुरीमाथिचाहिँ प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । निर्दोष विष्टलाई यतिबेला प्रहरीले गिरफ्तार गर्न खोजिरहेको छ ।

शेरबहादुर र आरजुले दिनहुँजस्तै सीडीओ र डीएसपीलाई टेलिफोन गरी दबाब दिने गरेको जानकारी जिप्रका सूत्रले घटना र विचारलाई दिएको छ । कमला विष्टले आफूमाथि भएको अन्यायको विषयलाई लिएर महिला सङ्घ र पार्टी कार्यालयमा निवेदन दिँदा कुनै सुनुवाइ भएको छैन । महिला सङ्घको बैठकमा केही नेतृहरूले यो विषयलाई उठाउँदा सभापति उमा रेग्मीले पछि छलफल गर्ने भनी पन्छाएकी छिन् ।

यसरी कर्ण मल्लमाथि देउवाको हमला शुरु हुँदा पनि पार्टीभित्र देउवालाई टक्कर दिन अग्रसर भएको बताउने नेताहरू किन मौन बसेका हुन्, सो भने अर्को रहस्य र जिज्ञाशाको विषय बनेको छ ।