मदिरा सेवन गरी ड्युटी बस्न यिनलाई छुट किन ?

मदिरा सेवन गरी ड्युटी बस्न यिनलाई छुट किन ?


वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी प्रहरी–पोशाकमै मदिरा सेवन गरी ड्युटी बस्ने गरेका छन् । गत शुक्रबार (६ भदौ) साँझ करिव ७.३० बजे तौलिहवास्थित भवानी भिक्षु चोकमा मदिरा सेवन गरी वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक मिलन चौधरी सवारी साधन चेकजाँचमा खटिएका थिए । प्रहरीले ड्युटीका बेला प्रहरी पोशाकमै रक्सी सेवन गर्ने अनि हामीलाई कानुन सिकाउने भन्दै स्थानीय सर्वसाधारणले प्रहरीको यस्तो हर्कतको विरोध जनाएका थिए, तर रक्सी सेवन गरेका प्रसनि चौधरी भने उल्टै सर्वसाधारणलाई वर्दीको रवाफमा थर्काउँदै थिए । चौधरीको यस्तो कर्तुृत खुलासाा उनलाई वडा प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

सर्वसाधारणले रक्सी सेवन गरी सवारी साधन चलाए उसलाई प्रहरीले पक्राउ गरी एक दिनभर थुन्छ । तर प्रहरीले उल्टै ड्युटी समयमा रक्सी खाएर मात्तिँदा चाहिँ के हुन्छ ? सर्वसाधारणको प्रश्न छ । तौलिहवास्थित वडा प्रहरी कार्यालयका प्रहरीहरू वर्दीमै मदिरा सेवन गरी ड्युटी गर्ने गरेको भए पनि यसको विरुद्ध आफुहरू बोल्न नसकेको सर्वसाधारण दुःखेसो गर्छन् ।

जनताको सेवामा खटिने वडा प्रहरी कार्यालयका प्रहरीहरूबाट उल्टै जनतालाई दुःख दिने गरेको गुनासो आफुसँग पटक–पटक आएको यशोधरा गाउँपालिकाकी उपप्रमुख कन्यावती उपाध्यायले बताउँछिन् । इमरजेन्सी अवस्थामा अस्पतालमा आएका बिरामीहरूलाई पनि लाइसेन्स र ब्लुबुकका नाममा वडाबाट खटिएका प्रहरीबाट अनावश्यक दुःख दिने काम भइरहेको उपप्रमुख उपाध्यायले बताइन् । ड्युटीमै प्रहरी पोसाकमा रक्सी खाँदै हिँड्ने प्रहरीलाई कडा कारवाही हुनुपर्ने उपप्रमुख उपाध्यायले माग गरेकी छिन् । नगरक्षेत्रमा खटिएका प्रहरीबाट चेक जाँचका नाममा सर्वसाधारणलाई दुःख दिन नहुने उनले बताइन् ।

नागरिकको करबाट पालिएको प्रहरी नागरिककै सेवामा समर्पित हुनुपर्छ । रक्सी खाएर बर्दीको रवाफ देखाउने प्रहरीले पूरै सङ्गठनको बदनामी गर्ने हुँदा यस्ता प्रहरीलाई प्रहरी ऐनअनुसार कारवाही हुनुपर्ने नेकपाका युवा नेता राजा भैया माग गर्छन् । दिनदहाडै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोह पक्राउ पर्दैनन् तर चेकजाँचका नाममा सर्वसाधारणले अनावश्यक दुःख पाइरहेको तौलिहवावासीको गुनासो छ ।

  • एस. क्षेत्री, कपिलवस्तु