जनता ‘मारेर’ डन पोस्दै गुठी !

जनता ‘मारेर’ डन पोस्दै गुठी !


सवा दुई सय वर्षदेखि बसोवास गरी आएका चौध परिवारलाई बिचल्ली बनाउँदै गुठी संस्थानले एक विवादास्पद व्यक्तिलाई घरजग्गा भाडामा दिने निर्णय लिएपछि असनका स्थानीय बासिन्दा क्रूद्ध भएका छन् ।

प्राप्त जानकारीअनुसार श्री ५ को वायु देवता गुठीको स्वामित्व रहेको काठमाडौं असनस्थित घर डनका रूपमा कुख्यात राजु गोर्खाली नामक व्यक्तिलाई २५ वर्षका लागि भाडामा दिने निर्णय संस्थानले गरेपछि उक्त घटनामा आश्रित १४ परिवार बिचल्लीमा परेका हुन् ।

वि.सं. १८५२ सालमा स्थापना भएको श्री ५ को वायु गुठीद्वारा निर्मित घरमा त्यसबेलादेखि नै केही परिवारले आश्रय लिँदै आएका थिए । वि.संं. १८८५ मा उक्त घर भत्किएपछि त्यहाँ बसोवास गर्दै आएकाहरूले नै अनुमति लिएर घर बनाएका थिए । त्यसको १०५ वर्षपछि १९९० सालको भूकम्पले उक्त घर पनि भत्काइदिएपछि त्यहाँ बसोवास गर्ने परिवार आफैँले अनुमति लिएर घर पुनर्निर्माण गरेका थिए । उक्त घरमा बसोवास गर्नेहरूले मासिक भाडा गुठी संस्थानलाई नै बुझाउँदै आएका थिए ।

चौध परिवारले पछिल्लो समयमा वार्षिक सात लाख साठी हजार रुपैयाँ भाडा बुझाउँदै आएका थिए भने गुठी संस्थानले राजु गोर्खालीसँग वार्षिक आठ लाख चालीस हजारका दरले भाडा लिने गरी पच्चीस वर्षका लागि घरजग्गा उपलब्ध गराउने सम्झौता गरेको छ । वि.सं. २०७० सालमा गुठी संस्थान र भोग चलन गरी आएका परिवारबीच घर बहाल तिरुन्जेल बसोवास गर्न पाइने लिखित सम्झौता भएको थियो ।

यसरी सरोकारवाला पक्षसँग सम्झौता भएको चार वर्षपछि २०७४ सालमा गुठी संस्थानले बज्रयोगिनी बहुउद्देश्यीय सहकारीका नाममा राजेन्द्रबहादुर उर्फ राजु गोर्खालीलाई उक्त घरजग्गा उपलब्ध गराउने सम्झौता गरेको छ । जग्गाको फिल्डबुकमा सन्तान दर सन्तानले उपभोग गर्न पाउने भनी लेखिएको र २०७० सालमा भाडा तिरुन्जेल बस्न पाइने सम्झौता भएको तथ्यलाई उपेक्षा गर्दै संस्थानका उच्चाधिकारीले गोर्खालीलाई उक्त घरजग्गा उपलब्ध गराउने सम्झौता गर्नु आफैँमा रहस्यको विषय बनेको छ ।

एउटा चोकसहित आठ आना तीन दाम क्षेत्रफलको असनस्थित उक्त घर जग्गामा बसोवास गर्दै आएका परिवारले स्थानीय अन्य बासिन्दासमेतको सहयोगमा यही भदौ ८ गते गुठी संस्थान घेराउको कार्यक्रम राखेका थिए । पीडितहरूको स्थितिलाई ध्यानमामा राखी ‘मातृभूमिका लागि नेपाली’ले समेत ¥याली र घेराउ कार्यक्रममा सहभागिता जनाएको थियो । एघार पसल र तीन परिवारको बसोवास भएको उक्त घर भत्काएर गोर्खालीले त्यहाँ सपिङ मल बनाउन खोजेको बुझिएको छ ।

गोर्खालीलाई घरजग्गा दिने निर्णयमा पुग्नुअघि नै गुठी संस्थानले सरोकारवाला व्यक्तिहरूको कुरा नसुन्ने, उनीहरूको घरबहाल पुनरावलोकन गरिपाऊँ भनी दिएको निवेदनमाथि कुनै कारबाही नगर्नेजस्ता रवैया देखाउँदै आएको थियो ।