सहारा एकेडेमीको मैदान महिला फुटबलका लागि उपयुक्त

सहारा एकेडेमीको मैदान महिला फुटबलका लागि उपयुक्त


नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को निर्धारित मिति नजिकिँदै जाँदा पोखरामा हुने महिला फुटबलका लागि प्रशिक्षण मैदानमा लागि तयारी गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पहल सुरु गरेका छन् ।

यसै क्रममा पोखरा दोविल्लास्थित सहारा एकेडेमीको खेल मैदान हालै गुरुङले निरीक्षण गरेका छन् । राखेप सदस्य भएपछि पहिलोपटक सहारा एकेडेमी पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयुक्त रहेको बताए । प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारहरूको निर्माण तथा मर्मतका लागि यथासीघ्र पहल थाल्ने उनको भनाई छ ।

गुरुङले भने– ‘सहाराको खेल मैदान उपयूक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुनसुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन् ।’

सागका क्रममा पोखरामा हुने सात खेलमध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधासम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेकोतर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघसँग समेत छलफल गर्ने बताए ।

एकेडेमीमा रहेका कठिन परिस्थितिका बालकहरुसँग भेटघाट गर्दै राखेप सदस्य गुरुङले सहाराले दिएको सहारालाई जीवनमा नबिर्सन आग्रह गरे । ‘अहिले यहाँ बस्ने तपाईहरुका लागि यतिबेला सहारा अभिभावक भएकोे छ, भोली आफ्नो खुट्टामा उभिएको बेला सहाराले लगाएको गुन तिर्नु होला ।’

राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अवसरमा हालै यूकेबाट नेपाल आएका सहारा क्लब पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए ।