उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान


निर्बाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । उपनिर्बाचन आगामी मंसिर १४ का लागि तय गरिएको छ ।
आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नयाँ दलका लागि दल दर्ता गर्न आह्वान गरेको हो । उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय उपलब्ध गराएको आयोगले जनाएको छ ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन । तर, निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको र संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले पनि उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्ने छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् ।