गगनहरू नपर्दा धरानवासी चकित

गगनहरू नपर्दा धरानवासी चकित


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार काण्डमा अन्य अभियोगीहरू अनुसन्धानात्मक कारबाहीको दायरामा तानिए पनि तात्कालिक स्वास्थ्यमन्त्री गगन थापा र थापाका तत्कालीन नेता कृष्णप्रसाद सिटौलामाथि अनुसन्धानको कुनै पनि प्रक्रिया शुरु नहुँदा धरानवासीहरू चकित परेका छन् ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र प्रबुद्ध धरानवासीहरूबीच गगन थापा र सिटौलाले सात करोड रुपैयाँ लिएर राजकुमार रौनियारलाई भीसी नियुक्त गरेको भन्ने चर्चा चलेको थियो । रौनियार स्वयमले विभिन्न सन्दर्भमा आफूले गगनलाई सात करोड बुझाएर भीसी बनेको बताउने पनि गर्दथे । त्यसअघि राजेन्द्र महतो स्वास्थ्यमन्त्री र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भीसी नियुक्त भएर आएका बलभद्र दासले चाहिँ आफू हिसिला यमीलाई चार करोड रुपैयाँ बुझाएर नियुक्ति पाएको कुरा हाकाहाकी बताउने गर्दथे ।

डा. मदनकुमार उपाध्याय, डा. सुन्दरमणि दीक्षित, पूर्णचन्द्र कर्माचार्य, लोकविक्रम थापा र डा. शेखर कोइरालाले प्रतिष्ठानको नेतृत्व सम्हालेका बेला उक्त संस्थाको प्रतिष्ठा बेग्लै थियो । त्यहाँ भ्रष्टाचार हुने कल्पनासम्म गरिँदैनथ्यो । बलभद्र दास भीसी भएपछि त्यहाँ शुरु भएको भ्रष्टाचार रौनियारसम्म आइपुग्दा चरम सीमामा पुगेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख रुपैयाँ घुससहित रौनियारलाई पक्राउ गरेकोमा चालीस लाख धरौटी राखेर थुनामुक्त भई उनी मुद्दा लडिरहेका छन् । रौनियारपछि बलभद्र दास र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ पनि अनुसन्धानमा तानिएका छन् । यसरी प्रतिष्ठानका पदाधिकारीहरू कारबाहीको दायरामा परे पनि ठूलो रकम घुस लिएर नियुक्त गरेको हो– होइन भन्ने विषयमा सामान्य अनुसन्धानात्मक कारबाही प्रक्रियासमेत अगाडि नबढाउनुलाई प्रतिष्ठानका शिक्षक, कर्मचारी, विद्यार्थी र धरानका बासिन्दाहरूले सामान्य रूपमा लिएका छैनन् । हिसिलादेखि सिटौला र गगनसम्मलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने माग उनीहरूले गरेका छन् ।