शङ्करको प्रश्न शेरबहादुरलाई

शङ्करको प्रश्न शेरबहादुरलाई


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हिन्दूराष्ट्र र पृथ्वीनारायण शाहका बारेमा निकै गम्भीर ढङ्गले प्रश्न उठेको छ । युवा नेता शङ्कर भण्डारीले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भने, ‘सभापतिज्यू हाम्रै पार्टीका नेता गृहमन्त्री हुँदा राष्ट्रिय एकता दिवसमा (पुस २७ गते) दिइएको बिदा काटिएको छ । यदि पृथ्वीनारायण शाह राष्ट्रनिर्माता होइनन्, हत्यारा मात्र हुन् भने काङ्ग्रेसको आजको बैठकले पृथ्वीनारायण राष्ट्रनिर्माता नभएर हत्यारा हुन् भन्ने निर्णय गरोस्, होइन भने पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताका रूपमा सम्मान गरियोस् र राष्ट्रिय एकता दिवसमा बिदा दिन माग गर्ने निर्णय आजै लिइनुपर्छ ।’

नेता भण्डारीले यसरी प्रश्न उठाउँदा विमलेन्द्र निधिको मुहार हेर्न लायक बनेको थियो भने अधिकांश सहभागीले प्रसन्नभाव प्रकट गरेका थिए ।

महासमितिको बैठकका ७३५ सहभागीले हिन्दूराष्ट्रको पक्षमा सही गरी सभापतिसमक्ष निवेदन बुझाएको स्मरण गराउँदै नेता भण्डारीले बैठकमा प्रश्न गरे, ‘तपाईंले सात सय पैंतीसको हस्ताक्षर बुझ्नुभएको होइन ? त्यसबेला तपाईंले छलफल नहुने भनेको भए बैठक अघि बढ्न सक्थ्यो ? किन कुल्चिने काम भयो महासमिति सदस्यहरूको भावना ?’ उनले सभापतिसँग हिन्दूराष्ट्रसम्बन्धी विषयलाई एजेण्डा बनाएर निर्णयार्थ अर्को बैठकमा छलफल गराउन माग पनि गरे ।

बैठकमा नेता डा. नारायण खड्काले भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वअधिकारीले एक पुस्तक प्रकाशित गरेको सन्दर्भबारे चर्चा गर्दै ‘उनले नेपालमा गणतन्त्र ‘रअ’ले ल्याएको भनेका छन्, त्यस विषयलाई हामीले गम्भीरतापूर्वक लिनुपर्ने’ धारणा प्रकट गरेका थिए । यसरी डा. खड्काले कुरा राखेपछि शङ्कर भण्डारीले कृष्ण सिटौला र शेरबहादुर देउवातिर हेर्दै प्रश्न गरेका थिए, ‘होइन, यो कुरा के हो, कसले ल्याएको हो गणतन्त्र ?’