नेपाली सेनाले लिएको एउटा निर्णयका कारण अमेरिका दुःखी भएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । अमेरिका र चीनबीच एकप्रकारले शीतयुद्ध शुरु भएका बेला नेकपाको सरकारले चीनसँग निकटतम सम्बन्ध बनाउने तत्परता लिनु र अमेरिकी हतियारको सट्टा कोरियन हतियार खरिद गर्ने निर्णय लिनुलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बुझिएको छ ।
हरेक वर्ष स्टाफ कलेज कोर्स गर्न अमेरिकाले आफ्नो सैन्य अधिकृतलाई नेपाल पठाउने गरेकोमा सेनाको यस्तो निर्णयसँगै त्यसबारे पुनर्विचार गर्ने स्थितिमा अमेरिका पुगेको छ । स्टाफ कलेज कोर्स गर्न सानो सङ्ख्यामा भए पनि अमेरिकाले आफ्नो अधिकृतलाई नेपाल पठाउँदा त्यसले सेना स्वयम् र देशको समेत गरिमा बढाएको महसुस गरिन्थ्यो ।
एस एन्ड टी मोटिव कम्पनी लिमिटेड नामक कोरियन कम्पनीलाई राम्रो हतियार उत्पादकका रूपमा लिइँदैन । कोरियनले निकै वर्षअघि प्रज्वल्लशमशेर राणाको समयदेखि नै आफ्नो हतियार नेपाली सेनालाई बिक्री गर्ने प्रयत्न गर्दै आएको थियो । विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनहरूको अध्ययन र परीक्षणपछि नेपाली सेनाले जी ३६ (जर्मन), एम १६ (अमेरिका) र गलिल (इजरायल) मध्येका हतियार खरिद गर्नु उपयुक्त हुने ठहर गरेको थियो । माओवादीको हिंसात्मक युद्धकालमा नेपाली सेनालाई हातहतियार र गोलीगठ्ठा आवश्यक परेको भए पनि त्यसबेला अमेरिका, जर्मनी र भारतलगायतका मुलुक सेनालाई हतियार उपलब्ध गराउने पक्षमा थिएनन् ।
माओवादी हिंसाको विद्रुप देखेपछि तात्कालिक अमेरिकी राजदूत सेनालाई हतियार उपलब्ध गराउनुपर्ने निष्कर्षमा पुगेका थिए र, M–16 नामक उच्च कोटिको हतियार खरिद गर्ने नेपाली सेनाको इच्छा पूरा भएको थियो । सेनापति गौरवशमशेर राणाको समयमा भैरवनाथ गणले मात्र प्रयोग गर्ने गरी जर्मनीको G-36 नामक हतियार झिकाइएको थियो । अमेरिकाले एम–१६ हतियार उपलब्ध गराएपछि भारतले पनि इन्सास नामक हतियार नेपाली सेनालाई दिएको थियो । कोरियन हतियारको परीक्षण हुँदा काम नलाग्ने ठहर त्यसबेला गरिएको थियो ।
मितव्ययिता र एकरूपताका लागि सेनाले G-36, M-16 र Galil मध्ये एउटा मात्र हतियार प्रयोगमा ल्याउने भन्ने पहिलेको निर्णयलाई बदल्दै कोरियन हतियार भित्र्याउने तयारी सेनाले गरेपछि उक्त हतियार कति उपयोगी हुन सक्ला भन्ने प्रश्न मात्र उठेको छैन राम्रो छवि बनाउँदै गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्णय क्षमतामाथि समेत प्रश्न उठेको छ । नेपाली सेनाको आवश्यकता र उपयोगिताका निम्ति भन्दा पनि कसैको निजी स्वार्थका निम्ति कोरियन हतियार खरिद गर्ने निर्णय गर्नुपरेको बुझिन्छ ।
लोकेन्द्र कार्की नामक हतियार व्यापारीले उच्च राजनीतिक तहलाई प्रभाव र प्रलोभनमा पारेर चार अर्ब एकानब्बे करोड रुपैयाँको हतियार खरिद गर्न सेनालाई बाध्य तुल्याएको बताइन्छ । लोकेन्द्र कार्की सेनालाई सामान उपलब्ध गराउने सबैभन्दा पहुँचदार तर कुख्यात व्यापारीका रूपमा चिनिन्छन् । काङ्ग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका सहोदर भाइ लोकेन्द्र कार्कीले सेनापति पूर्णचन्द्र थापालाई समेत बाध्य पार्ने गरी नेकपाका कुन–कुन नेतालाई प्रभावमा पारेर यसप्रकारको निर्णय गराउन सकेका हुन्, खोजीको विषय बनेको छ । जुनसुकै कारणबाट यस्तो निर्णय गरिएको भए पनि नेपाल र अमेरिकाबीच सम्बन्ध चिसो बनाउन यस प्रकरणले सहयोग पु¥याएको छ ।
लोकेन्द्र कार्कीलाई ‘इमल्सन प्लान्ट’ बनाउने ठेक्का पनि सेनाले उपलब्ध गराएको बताइन्छ । यस प्रकरणमा राजन रायमाझीले राम्रो लाभ प्राप्त गरेको चर्चा सेनाभित्र छ । भ्रष्टाचार र अनियमितताविरुद्ध सम्झौताहीन सङ्घर्ष गरिरहेका प्रधानसेनापति थापालाई आफ्नो कार्यमा यस्तै व्यापारी, सहकर्मी र राजनीतिक दबाबले बाधा पु¥याउने चिन्ता कोरियन हतियार खरिद गर्ने निर्णयसँगै थपिएको छ ।
प्रतिक्रिया