मोहन वैद्यद्वारा पार्टी पुनर्गठनको तयारी

मोहन वैद्यद्वारा पार्टी पुनर्गठनको तयारी


माओवादीलाई वैचारिक अगुवाइ गर्नुहुने पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण माओवादी पार्टीलाई ‘पुनर्गठन’ गर्ने निष्कर्षमा पुग्नुभएको जानकारी प्राप्त भएको छ । अध्यक्ष प्रचण्ड र अर्का उपाध्यक्ष बाबुराम भट्टराई पार्टी र क्रान्तिविरुद्ध लागेको ठहरसहित वैद्य पार्टी पुनर्गठनको निष्कर्षमा पुग्नुभएको बताइएको छ । पुनर्गठित पार्टीको अध्यक्षमा वैद्य स्वयम् रहनुहुने र पार्टीका देशभक्त एवम् क्रान्तिकारीहरूलाई सङ्गठित गर्ने योजना नेता वैद्यले बनाउनुभएको निकटवर्तीहरूले बताएका छन् । क्रान्तियात्रामा वैधानिकताको पाटो गौण हुन्छ भन्ने धारणा राख्नुहुने उहाँले तत्कालै सशस्त्र विद्रोहमा जाने सोच भने नबनाउनुभएको बताइन्छ । त्यसैले पार्टीबाट ‘क्रान्तिविरोधी’ र ‘गद्दार’ नेताहरूलाई निष्कासन गरी पार्टीलाई नयाँ स्वरूप दिने, संसदीय दलमा नयाँ नेता चुनी नयाँ सत्ता समीकरण बनाउनेसम्मको सोच वैद्यले बनाउनुभएको छ । तत्काल विद्रोहमा नगई त्यसको निम्ति वातावरण बनाउने र आवश्यक भौतिक तयारी मात्र गर्ने योजनामा रहेको वैद्य खेमाले प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठहरू एकै ठाउँमा उभिँदा पनि आफ्नो पक्षमा एक सय बढी सभासद् हुने विश्वास गरेको छ । वैधानिक रूपले पार्टीको मान्यता पाउन वैद्यलाई आफ्नो पक्षमा कम्तीमा चौरानब्बे (९४) सभासद् या पार्टी केन्द्रीय समितिका अन्ठाउन्न ? ५८) सदस्यको र्समर्थन आवश्यक पर्छ । केन्द्रीय समितिमा वैद्य पक्षका त्रिपन्न (५३) सदस्य रहेका, तर स्वनामलगायतका अन्य आठ नेता वैद्यका पक्षमा उभिने भएपछि साठीभन्दा बढी केन्द्रीय सदस्यको र्समर्थन वैद्यलाई प्राप्त हुने विश्वास सम्बद्ध नेताहरूको छ । आफ्नो पक्षमा कम्तीमा ‘चालीस प्रतिशत’ सदस्य लिएर पार्टीलाई वैधानिक मान्यता दिलाउने योजनामा रहेको वैद्य खेमाले आगामी असोज १ गते हुने पार्टी केन्द्रीय समितिको बैठकसम्म भने प्रतीक्षा गर्ने जनाएको छ ।
हतियारको कन्टेनरको साँचो ‘विशेष समिति’लाई बुझाउने निर्णय कार्यान्वयन हुन थालेपछि वैद्य पक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईसँग तीव्र असन्तुष्टि प्रकट गर्दै उक्त निर्णयका विरुद्ध सडकमै उत्रिएपछि माओवादीभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ । गत आइतबार बसेको माओवादी स्थायी समितिको बैठक यसै विषयमा केन्द्रित रहेको र निकै तनावपूर्ण वातावरणमा सम्पन्न बैठकमा प्रचण्ड पक्षले वैद्यलगायतका नेताहरूमाथि ‘कारबाही’ गर्ने प्रयास गरेका थिए । वैद्य पक्षले भने साँचो बुझाउने निर्णयको प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै प्रचण्ड पक्षले आत्मालोचना गर्नुपर्ने धारणा राखेको थियो । चर्काचर्कीबीच उत्पन्न विवादको टुङ्गो केन्द्रीय समितिबाट लगाउने स्थायी समितिको बैठकले निर्णय गर्‍यो । निर्णयअनुसार आगामी असोज १ गते माओवादी केन्द्रीय समितिको बैठक बस्नेछ । उक्त बैठक ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण हुनसक्ने देखिएको छ । बैठकमा प्रचण्डले सके वैद्यलगायतका नेताहरूलाई कारबाही गर्ने र वैद्यले सके प्रचण्डलगायतलाई आत्मालोचना गराउने प्रयास गर्ने निश्चितप्रायः छ । यदि १ गतेको बैठकअगावै दुई पक्षबीच एकताको विश्वासिलो सूत्रको खोजी गर्ने सफलता नेतृत्वलाई प्राप्त भएन भने माओवादी पार्टीको विभाजन हुनसक्ने सम्भावना छ । वैद्य पक्षले साँचो हस्तान्तरणलाई क्रान्तिविरुद्धको षड्यन्त्रका रूपमा परिभाषित गर्न चाहेको छ भने सत्तारुढ हुने क्रममा बाबुराम-प्रचण्डले मधेसकेन्द्रित दलहरूसँग गरेको सम्झौताले चाहिँ राष्ट्रियतामा धक्का पुर्‍याउने ठानेको छ । यही तरिकाले बाबुराम-प्रचण्ड अघि बढ्ने हो भने उनीहरू सँगसँगै जान नसक्ने ठहर वैद्य पक्षले गरिसकेको छ । केन्द्रीय समितिको बैठकले आन्तरिक विवादको ठोस र उपयुक्त निकास दिन सकेन भने वैद्य पक्षले प्रचण्ड र बाबुरामलाई हटाएर पार्टी ‘पुनर्गठन’ गर्ने र सत्ता ? समीकरण बदल्ने निधो गरिसकेको छ । विगत केही महिनायता एउटा मोर्चाको रूपमा रहेको माओवादी पार्टीको नेतृत्वमा उत्पन्न विवाद अन्ततः विभाजनसम्म पुगेर मात्र टुङ्िगने सम्भावना बढेको छ । भनिन्छ, वैद्य पक्षले क्रान्ति र ठिवद्रोहको निम्ति आफ्नो बेग्लै तयारी पनि गरिरहेको छ ।