देउवा र सिटौलाले भने- ‘आलमको मुद्धा ब्युँताएर काङ्ग्रेसमाथि प्रहार गरियो’

देउवा र सिटौलाले भने- ‘आलमको मुद्धा ब्युँताएर काङ्ग्रेसमाथि प्रहार गरियो’


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी कम्युनिष्ट सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् । काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मध्यपुरथिमिको बोडे (भक्तपुर)मा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने– ‘१२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको छ ।’

काङ्ग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि शुक्रबार शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले कम्युनिष्ट र काङ्ग्रेस फरक हो भनेर अब कामबाटै देखाउनुपर्छ भन्दै काङ्ग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनैपर्ने जिकीर गरे ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको चेतावनी दिए ।

यस्तै, महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए भने कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्नुपर्ने ‘उपदेश’ दिए । सिटौलाले सञ्चारमाध्यहरू समेत षडयन्त्रमूलक रूपमा काङ्ग्रेसको विरुद्धमा आएको आरोप लगाए । सिटौलाले भने– ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।’