आलम भन्छन्- ‘घटना घटेकै छैन’

आलम भन्छन्- ‘घटना घटेकै छैन’


बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जिउँदै हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताव आलममाथि अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले प्रहरीलाई थप ५ दिनको म्याद दिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सो म्याद दिएको हो ।

म्याद थपपछि अदालतबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीको प्रश्नमा आलमले घटनै नभएको प्रतिक्रिया दिएका छन् । रौतहट जिल्ला अदालत परिसरमा आलमले भने, ‘घटना नघटेका कारणले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो, त्यही नै सत्य हो ।’

०६४ को पहिलो संविधानसभा निर्वाचनताका समाजमा आतंक फैलाउँदै बुथ कब्जा गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाइरहेको बेला विस्फोट भएको थियो । सो विस्फोटमा परी घाइते हुनेलाई उपचारको सट्टा इँटाभट्टामा हालेर जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले गत असोज २६ मा पक्राउ गरेको थियो ।

उनलाई आज तेस्रोपटक अदालत उपस्थित गराइएको हो । यसअघि पहिलोपटक कानुन व्यवसायीसँग सल्लाह गर्नुपर्छ भन्दै र शारीरिक अस्वस्थताको कारण देखाउँदै बयान दिएका थिएनन् । उनलाई आज (आइतबार) तेस्रोपटक जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।