महरालाई पाँच दिन हिरासतमा राखिने

महरालाई पाँच दिन हिरासतमा राखिने


काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले आइतबार (३ कात्तिक) यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई दिन बितेकाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसअघि अदालतले महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यो म्याद गत शुक्रबार सकिएको थियो ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारले हिरासतमा लिए पनि स्वास्थ्यमा समस्या दर्शाएका कारण उनलाई उपचारका लागि नर्भिक अस्पतालमा राखिएको छ ।

यसैगरी, जिल्ला अदालत काठमाडौंले अर्का सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको हो ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए । सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुनका लागि ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आज (३ कात्तिक) अदालतमा उपस्थित भएर बयान दिएपछि सो आदेश भएको हो ।

सांसद गुरुङसहित सात जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । निर्वाचनका समयमा खड्कामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेको थियो । विसं २०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौंमा आक्रमण भएको र त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै अभियोग किटानी जाहेरीमा उल्लेख छ ।