गाईले चिता घुमेपछि !

गाईले चिता घुमेपछि !


मान्छेले गाईको अन्त्येष्टि गरेको त सुनिएको हो, तर गाईले मान्छेको अन्त्येष्टिमा विधिपूर्वक सहभागी भएको भने सुनिएको थिएन । भारतको मध्यप्रदेशमा एउटा अनौठो घटना भएको छ । गत महिनाको कुरा हो, उत्तर प्रदेशको बेतुल भन्ने ठाउँमा एक महिलाको मृत्युपछि अन्त्येष्टिको काम भइरहेको थियो । मुन्नी गुप्ता नाम गरेकी ती महिलालाई अन्त्येष्टिका लागि बनाइएको चितामा राखेर मुखमा दागबत्ती दिन लाग्दा गाउँकै दुईवटा गाई घाटमा पुगे । एकछिन उनको लासलाई हेरेर ती गाईहरू सरासर चितानजिक गएर घुम्न थाले । आमाबाबुलाई दागबत्ती दिनुअघि सन्तानले घुमेजसरी गाईहरू घुमेको देखेर त्यहाँ रहेका मलामीहरू आश्चर्यचकित बने ।

तिमीहरू को हौ ? भनेर गाईलाई सोध्ने कुरा भएन । यी गाईहरू कहाँका हुन् र यिनीहरू यहाँ किन आए ? भनी खोजी गरियो । सेतो र कैलो रङका ती गाईहरू मुन्नीकै गाउँका रहेछन् । गाउँमा गाईहरू बिरामी हुँदा मुन्नीले औषधि गर्ने, घाउहरूमा औषधि लगाइदिने र खाना दिने गर्दिरहिछन् । मुन्नीको मृत्युको दिन गाउँभरिका गाईहरू आँखाभरि आँसु पारेर रोएको र ती दुईवटा गाईले दाम्लो चुँडाएर घाट पुगी लासलाई परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गरेको घटना स्थानीयहरूबीच अहिले चर्चाको विषय बनेको छ । जनावरमध्ये गाई र कुकुरमा मानिसको जस्तै संवेदना हुन्छ भनिन्छ ।