कसले भेटायो पारस र सोनिकालाई ?

कसले भेटायो पारस र सोनिकालाई ?


धेरैले पूर्वयुवराज पारसलाई बिग्रिएको मानिस ठान्छन् । तर, सोनिका यो कुरामा विश्वास गर्दिनन् । उनको भनाइ छ– मजस्तो बिग्रिएको मान्छेलाई पारस सरकारले सुधार्नुभयो । पारस र सोनिका सम्बन्धले अहिले बजार तताएको छ । समयसमयमा विभिन्न कारणले चर्चामा आइरहने पूर्वयुवराज पारस केही समयअघि वसन्तपुरमा बोल्नै गाह्रो हुने अवस्थामा देखिएको चर्चा सेलाउन नपाउँदै सोनिकासँगको निकटताले ठाउँ लिएको छ ।

युटुबर सोनिकाले पारससँगका टिकटक भिडियोहरू सार्वजनिक रूपमा अपलोड गरेपछि यी दुईको सम्बन्ध चर्चाको शिखरमा पुगेको हो । पारस–सोनिका सम्बन्धलाई लिएर पारसले नै सुधार्नुपर्ने भनेपछि एक–अर्कामा मिलेकै जोडी रहेछ भनी टिप्पणी गर्ने गरिएको छ । यद्यपि विवाहित भएका कारणले मात्र नभई राजाका छोरा र पूर्वयुवराजसमेत भएका कारण पारसको यो सम्बन्धलाई आमसम्बन्धभन्दा फरक तरिकाले हेरिएको छ ।

प्राप्त जानकारीअनुसार पूर्वयुवराज दीपेन्द्रका साथी नवीन श्रेष्ठमार्फत पारस र सोनिकाको भेटघाट भएको थियो । पारसले दीपेन्द्रलाई अति आदर गर्ने भएका कारण दीपेन्द्रका साथीहरूलाई पनि उनले त्यत्तिकै आदर गर्ने गर्छन् । अचेल पारस आफू रक्सी खाँदैनन् र कुनै पनि प्रकारको मादक पदार्थ सेवन गर्ने मानिससँग टाढा बस्न खोज्छन् । पारसको बारेमा बाहिर हल्ला सुन्ने र बेलाबेलामा वसन्तपुर मार्काका दृश्य हेर्नेहरूका लागि उनले मादकपदार्थ सेवन गर्दैनन् भन्दा विश्वास गर्न गाह्रो पर्छ ।

पूर्वयुवराजका निकटवर्तीहरूका अनुसार गाँजा–चरेस सेवन गरे पनि उनले मदिरा भने सेवन गर्दैनन् । मादकपदार्थ सेवनकर्ता नै भए पनि दीपेन्द्रका साथीहरूलाई भने उनले केही भन्न सक्दैनन् । विगतमा दीपेन्द्र उनका कमजोरी थिए, अहिले दीपेन्द्रका केही साथीहरू उनका कमजोरीको रूपमा देखिएका छन् । यसैमध्येका एक नवीन श्रेष्ठमार्फत पारस र सोनिकाको भेट भएको थियो । विवाह असफल भएका नवीनले डिस्को जाने, खानपिनमा रमाउने क्रममा सोनिकालाई भेटेको र पारसलाई त्यस्तै मनोरञ्जनात्मक कार्यमा लिएर जाँदाजाँदै पारस–सोनिकाको निकटता बढेको पारस समूहका व्यक्तिहरूको भनाइ छ ।

शुरुमा पारस–सोनिकाको सम्बन्धलाई पारसका साथीहरूले सामान्य रूपमा लिएको भए तापनि उनीहरू घुम्न जाने, आउटिङ जाने र धमाधम भिडियोहरू आउन थालेपछि भने गम्भीर भएको बताइन्छ । घरपरिवारबाट पारसलाई साथ–सहयोग नभएको परिप्रेक्षमा अरू कसैसँग सम्बन्ध बढ्नुलाई असामान्य नमानिए पनि सोनिकासँगै सम्बन्ध बढाउनुलाई भने सामान्य रूपमा नलिइएको बताइन्छ । सोनिका यसअघि समलिङ्गी सम्बन्धमा रहेकाले ‘बाइसेक्सुवल’हरूको सम्बन्ध महिला–पुरुष जोसँग पनि हुन सक्ने र यस्ता सम्बन्धले जोखिम बढाउने भनी निकतवर्तीहरू झस्किएका हुन् ।

यता सोनिकाले भने पारसलाई भेटेपछि आफू खुशी भएको अन्तर्वार्ताहरूमा बताएकी छिन् । प्राप्त जानकारीअनुसार अरूले हेर्दा पारसको पृष्ठभूमिलाई सोनिकाले महत्व दिएकोझैँ देखिए पनि रेस्टुरेन्टमा खाएको बिलहरू सोनिका आफैँले तिर्ने गरेकी छिन् । उनले पारसलाई खर्च गर्न नलगाउने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बझाङमा जन्मिएर त्यहीँ हुर्किएकी सोनिका आफैँ व्यवसायी हुन् ।

अहिले व्यापक चर्चा भएपछि पारस–सोनिकाका भिडियोहरू डिलिट गरिएका छन् । आफ्नो फेसबुकमा सोनिकाले सेयर गरेका टिकटक भिडियोहरू पारसको आग्रहले हटाएको बताइएको छ । पारसका साथी तथा निकटवर्तीहरूले आपत्ति जनाएपछि पारसले सोनिकालाई ती सामग्री हटाउन लगाएका थिए । त्यस्ता भिडियोहरूले बच्चाहरूको मानसिकतामा के असर पर्छ सोचिबक्सेको छ ? भनी एक निकटवर्तीले प्रश्न गरेपछि पारसले फोटोहरू निकाल्न लगाएको बुझिएको छ । बहिनीहरू (धीरेन्द्रका छोरीहरू) सँग सोनाकोठीमा बस्दै आएका पारस अहिले आफ्नै फ्ल्याटमा चण्डोलमा बस्दै आएका छन् ।