सभामुख चयनमा सकस, मूख्य नेताबीच तानातान

सभामुख चयनमा सकस, मूख्य नेताबीच तानातान


‘साडी आक्रमण’मा परेर कृष्णबहादुर महराले सभामुख पद गुमाएपछि रिक्त पदमा कसको चयन हुन सक्ला भन्ने जिज्ञाशा सर्वत्र पैदा भएको छ । सभामुख पदमा नेकपाभित्रको माओवादीले आफ्नो दाबी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ, नेकपाभित्रकै एमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यति नै देखिएको छ ।

हालसम्म पार्टीभित्र र बाहिर करिब पौने एक दर्जन नेताहरूको नाम सम्भावित सभामुखका रूपमा चर्चामा आएका छन् । सुवास नेम्वाङ, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, हृदयेश त्रिपाठी, पम्फा भुसाल, देव गुरुङ, देवेन्द्र पौडेल, ओनसरी घर्ती र अग्नि सापकोटाको नाम विभिन्न कुनाबाट विभिन्न स्तरमा चर्चामा रहेको छ । झिनो स्वरमा भए पनि शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस पार्टीले समेत सभामुखमा दाबी गरिरहेको छ ।

सभामुख र उपसभामुख दुई भिन्न दलहरूबाट हुने संवैधानिक व्यवस्था भएकोले राजपाका नेता लक्ष्मणलाल कर्णको नाम पनि सम्भावित उपसभामुखका रूपमा अगाडि आएको छ । सत्तारुढ पार्टीले सभामुख पद नछोड्ने निश्चित भएको र उपसभामुख शिवमाया तुम्बाहाम्फेसमेत नेकपाकै पक्षको भएकोले तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्रिमण्डलमा समावेश गरिने या अन्य कुनै महत्वपूर्ण जिम्मेवारी दिइने सम्भावना छ ।

कास्कीको उपनिर्वाचनमा उम्मेदवार बनाएर विजयी भएमा सोमनाथ अधिकारी ‘प्यासी’ लाई सभामुख बनाइनुपर्छ भन्ने आवाज पनि सुन्नमा आएको छ । उल्लिखित नामहरूमध्ये प्रचण्डले चाहेको पहिलो व्यक्ति अग्नि सापकोटा र केपी ओलीको रोजाइमा सुवास नेम्वाङ परेको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल देव गुरुङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् । माधवकुमार नेपाल ‘ठीक ठाउँमा आए’ सोमप्रसाद पाण्डे (माधव नेपालका सम्धी) लाई सभामुख बनाउन केपी ओली सकारात्मक हुने विश्वास गरिएको छ । प्रचण्डको प्रथम प्राथमिकतामा अग्नि सापकोटा, दोस्रोमा पम्फा भुसाल र तेस्रो प्राथमिकतामा मात्र देव गुरुङ भएको सम्बद्ध सूत्रबाट जानकारी मिलेको छ ।

केपी ओलीको चाहिँ पहिलो प्राथमिकता सुवास नेम्वाङ भए पनि हृदयेश त्रिपाठी र सोमप्रसाद पाण्डेप्रति समेत सकारात्मक भएको बुझिन्छ । ओली र प्रचण्ड दुवैको समान अडान केमा देखिएको छ भने केपी कुनै पनि हालतमा ‘माओवादी’लाई सभामुख दिन तयार हुनुहुन्न र प्रचण्डचाहिँ ‘एमाले’लाई सभामुख पद सुम्पन्न कदापि चाहनुहुन्न । दुई नेताबीच सभामुख चयनको विषयलाई लिएर निकै रस्साकस्सी चल्ने सम्भावना देखिएको छ । प्रमुख नेताहरूबीच उत्पन्न हुने कडा टक्करले उत्पन्न गर्ने परिस्थितिले सुवास नेम्वाङ र अग्नि–पम्फा–देवबाहेकका व्यक्तिलाई ‘सभामुख’ बनाइदिने सम्भावना पनि बलियो छ । यही विषयलाई लिएर केपी र प्रचण्ड आ–आफ्नै बाटो लाग्ने सम्भावना पनि त्यत्तिकै रहेको छ ।

सभामुख चयन तत्काल हुने स्थिति छैन, कास्कीको उपनिर्वाचनपछि मात्र सभामुख चयनको प्रक्रिया शुरु हुने बुझिएको छ ।