दिङ्ला अस्पताल भवन प्रयोगविहीन

दिङ्ला अस्पताल भवन प्रयोगविहीन


षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ शय्याको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ ।

अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासीनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु. दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौंले ६ वर्ष लगाएर गत असारमा निर्माण सम्पन्न गरेको सो अस्पताल भवनको संरक्षण हुन नसक्दा अहिले भत्किन थालेको छ ।

संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि रहेको गेटको पिलर र दक्षिण भागमा रहेको बाहिरी पर्खाल भत्किएको छ । भारतीय राजदूतावासका प्रतिनिधि वेदप्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरपालिकाका प्रमुख वीरबल राईलाई ०७५ मंसिर २८ गते भवनको ताला, चाबी जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाईंले जानकारी दिए ।

नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरूप भारतीय सहयोगमा अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याउने नगरप्रमुख राईले बताए ।