संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट

संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट


आफ्नो पार्टी छाडेका सात जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

यादवले आइतबार दायर गरेको रिट निवेदनमा आफ्नो पार्टी छाडेका सात जना सांसदलाई सरकारलाई विश्वासको मत दिन र संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ ।

रिट निवेदनमा आफ्नो पार्टी छाडेका सांसदले प्रतिनिधिसभा सदस्य पद गुमाइसकेको जिकिर गर्दै निजहरुबाट प्रधानमन्त्रीले विश्वासको मत लिए पनि बदर हुने दाबी गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार (७ जेठ)का लागि तोकिएको छ ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यही जेठ २ गते निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश गरेको थियो ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

गत वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा निर्वाचन आयोगले गत वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये पाँच मात्रै सांसद छन् । उक्त विवादमा यही जेठ ८ गते दुवै पक्षको छलफलका लागि पेसी तोकिएको छ ।