युवाहरूको कुटपिटबाट थारूको मृत्यु

युवाहरूको कुटपिटबाट थारूको मृत्यु


बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरूको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारूलाई युवाहरूको समूहले कुटपिट गरी घाइते बनाएको थियो । थारूको उपचारका क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भाइटीकाको राति युवाहरूको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशंकामा अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्साचालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरूको समूह कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।