नाइके फेर्नुपर्ने माग राख्दै कैदीबन्दी आन्दोलनमा

नाइके फेर्नुपर्ने माग राख्दै कैदीबन्दी आन्दोलनमा


नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् । नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले बिहीबार (१४ कात्तिक) आन्दोलन थालेका हुन् ।

कैदीबन्दीले कारागारको मूलढोकामा ताला लगाएका छन् ।

बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् । फोन प्रयोग गरेबापत प्रतिमिनेट तीनका दरले कैदीबन्दीबाट रकम असुल्ने गरेको समेत उनीहरुको आरोप छ ।

समस्या समाधानका लागि कैदीबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख थापाले बताएका राससले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर वलीले बिहीबार नै कैदीबन्दीसँग छलफल गरेका छन् । छलफलका क्रममा कैदीबन्दीले नाइके परिवर्तनको माग राखेका छन् ।