काभ्रेमा वडा कार्यालयको सामग्री लुटपाट

काभ्रेमा वडा कार्यालयको सामग्री लुटपाट


काभ्रेस्थित नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट बिहीबार (१४ कात्तिक) सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी लुटपाट गरिएका सामग्री जफत गरेको छ ।

नेपाली काङ्ग्रेससमर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०/२२ जनाको समूहले वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सीलगायत सबै सामग्री लुटेर लगेको वडाध्यक्ष रामशरण हुमागाईंले दाबी गरेका राससले जनाएको छ । आफू वडा कार्यालयको जमीन व्यवस्थापन तथा नापजाँचसम्बन्धी कामका लागि नापी कार्यालय धुलिखेल गएको मौकामा काङ्गे्रसका स्थानीय नेता–कार्यकर्ताले वडाका सम्पूर्ण सामग्री लुटेर लगेको उनको भनाई छ ।

करिव ११ बजे दुई वटा ट्रक लिएर वडा कार्यालय पुगेका उनीहरुले कार्यालयमा बसेका वडासदस्य शिवप्रसाद भूर्तेल, वडा सचिव रामचन्द्र श्रेष्ठ र वडाका कर्मचारी प्रमिला हुमागाईंलाई बाहिर निकाली सामग्री लगेको जिकीर गर्दै वडाध्यक्ष हुमागाईंले भने– ‘म वडा कार्यालयकै भवन बनाउन जमीन नापजाँचसम्बन्धी काम गर्नका लागि सदरमुकामस्थित नापी कार्यालय गएको बेला काङ्ग्रेसका नेता कार्यकर्ताले सामग्री लुटेर लगेछन्, मलाई वडासदस्य श्रेष्ठले जानकारी गराएपछि मात्रै थाहा पाएँ ।’

बताइएअनुसार केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालटारमा सार्नुपर्छ भन्दै दबाब दिइरहेका थिए । भेँडाबारीस्थित एक घरमा अस्थायी रूपमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउराली डाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिकासमेतको बैठकले गरिसकेको हुमागाइँको भनाई छ ।

‘दाहारटारमा वडा कार्यालय सार्न निकै दबाब थियो, दाहालटार वडाको केन्द्र भाग पर्दैन, वडा र नगरले नै देउरालीमा राख्ने निर्णयपछि ढुक्क थियौँ, तर आफैँ सामग्री लुटेर लैजान थालेपछि थप विवाद निकाल्न खोजियो’– उनको आरोप छ ।

यता, भूपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको स्वीकार गर्दै भनेका छन्– ‘वडावासीको चाहना दाहालटारमा वडा कार्यालय बनाउने छ, उनीहरुले एकलौटी निर्णय गरेर हुँदैन, त्यसैले सामग्री उठाएर ल्याएका हौँ ।’ वडा कार्यालय सार्न आफूसँग सयौँ वडावासी गएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले देउराली चोकमा हस्तक्षेप गरी गाडी नियन्त्रणमा लिएको थियो । सामग्री सुरक्षित गरी, पुनः कार्यालयमा फर्काइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

यसैगरी, धादिङको नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा पनि अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ ।

तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी गरेको वडाध्यक्ष भोजराज रेग्मी जानकारी दिएका छन् ।

तिहारको बिदापछि बिहीबार कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको उनको भनाई छ । अज्ञात समूहले कार्यालयको मुख्य ढोकासहित पाँच ढोका, स्टिल दराज र वडाध्यक्षको कार्यकक्षको टेबुलको घर्रा तोडफोड गरेको छ । चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताए ।