भारत सरकारको सहयोगमा दार्चुलामा नयाँ विद्यालय भवन

भारत सरकारको सहयोगमा दार्चुलामा नयाँ विद्यालय भवन


दार्चुलाको खलङ्गास्थित श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयकोे नयाँ भवनको उद्घाटन गरिएको छ । मित्रराष्ट्र भारतको तीन करोड अनुदान सहयोगमा नवनिर्मित विद्यालय भवनको नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शुक्रबार (१५ कात्तिक ०७६) उदघाटन गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश (प्रदेश ७) को दार्चुलास्थित खलङ्गा गाउँपालिकामा रहेको महेन्द्र मोडल उच्चमाध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्चमाध्यमिक तहका कार्यक्रमहरु सञ्चालित छन् ।

बताइएअनुसार यस विद्यालयले सुलभ शुल्कमा प्राथमिकदेखि उच्चमाध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दछ । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार योग्य तथा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई यस विद्यालयले विविध छात्रवृत्ति पनि प्रदान गर्दछ । विद्यालयले खेलकुद, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक परामर्श, मल्टिमेडिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, कक्षा कोठा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । यस विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

भारत सरकारको अनुदान सहयोगमा निर्मित नयाँ संरचनामा १३ वटा कक्षाकोठासहित एउटा बैठक कक्षा, प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा एवं फर्निचरकोे पनि व्यवस्था रहेको छ भने नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विद्यालय भवन उद्घाटन समारोहमा उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडू, महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, दार्चुला जिल्ला समन्वय समितिका प्रमुख करवीर सिंह कार्कीलगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताको सहभागिता थियोे ।