कालीगण्डकी तटमा बिशेष मेलाको तयारी

कालीगण्डकी तटमा बिशेष मेलाको तयारी


स्याङजाको चापाकोट नगरपालिका वडा नं ६ स्थित केदालीघाट धाममा बिशेष मेलाको आयोजना गरिएको छ । ठूला एकादशीको अवसर पारेर मेलाको आयोजना गरिएको हो ।

हाम्रो परम्परा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी २२ गते साँझ बृहत भजन किर्तन तथा महाआरती महोत्सव हुने आयोजकले जनाएको छ । श्री राधा दामोदर नेपाल निम्वार्क पीठ केदालीधामको आयोजनामा २२ गते साँझ विख्यात कलाकार तथा भजन गायकहरुको साथमा प्रथम ऐतिहासिक कालीगण्डकी महाआरती महोत्सव हुने भएको हो ।

सो अवसरमा ग्रामिण सहारा समाज तथा स्थानीय राधा आमा समुहको संयुक्त अगुवाईमा यस बर्षपनि कालीगण्डकी नदीमा तोरण तारिने र साँझ विविध कार्यक्रमको आयोजना गरीने भएको हो ।

हरेक बर्ष केदालीघाट धाम परिसरभित्रै रहेको कालीगण्डकीको तटमा बिशेष मेलाको आयोजना हुँदै आएको छ । कालीगण्डकी तटमा हरिबोधनी एकादशीका दिन श्रद्धालु भक्तजनहरु स्नान गर्न र तोरण तार्न आइपुग्ने गर्छन् । सो अवसरमा कालीगण्डकी नदीमा तोरण तार्दा निकै रमाइलो हुने हुँदा टाढा टाढाबाट पनि श्रद्धालु भक्तजनहरु स्नानका लागि केदालीघाट धाममा पुग्ने गर्दछन् ।