रोटरीद्वारा अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग

रोटरीद्वारा अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग


तनहुँको जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेई र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करिब आठ लाख रुपैयाँ मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो ।

उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वसंविधानसभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै पोखरेलले रोटरी क्लबले मानवीय सेवाको महत्वपूर्ण काम गरेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले अस्पतालमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए । अधिकारीले अस्पताललाई ५० शय्याको बनाउन प्रयत्न भइरहेकाले यस अभियानमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । अस्पतालको स्तरोन्नतिका लागि न्यूनतम ३५ रोपनी जग्गा आवश्यक रहेकाले सम्भावित जग्गाको खोजी भइरहेको अधिकारीको भनाइ थियो ।

उक्त मेसिनबाट ट्युमर, मिर्गौलामा पत्थरी र फोक्सोमा पानी जमेको पत्ता लगाउन सकिने अस्पतालका डा. रामहरि दाहालले जानकारी दिए । रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुरजकुमार मल्लले अस्पताललाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै मेसिनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।

पन्ध्र शशय्या क्षमताको अस्पतालबाट हाल ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ । सरकारीतर्फ २४ दरबन्दी भए पनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत ३३ कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स–अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन–असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र वि.सं. २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस केन्द्र ०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो । ०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, ०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा ०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा करिब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । अस्पतालबाट दैनिक ३०० बिरामीले सेवा लिइरहेका छन् ।
rss