निर्माणाधीन नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजना शुभारम्भ

निर्माणाधीन नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजना शुभारम्भ


मकवानपुरको हेटौंडास्थित भारत सरकारको सहयोगमा निर्माणाधीन ‘नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना’को शुभारम्भ गरिएको छ । मंगलबार (१९ कात्तिक) आयोजित प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्यसचिव पुष्परमण वाग्लेलगायत ६ सयभन्दा बढी स्थानीय तथा विद्यार्थी सहभागी रहेका विशेष कार्यक्रमबीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यवाहक राजदूत डा. अजय कुमारको समुपस्थितिमा पोलिटेक्निकको उद्घाटन गरेका हुन् ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको सो नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान भारतीय रूपैयाँ ३८.५३ करोड सहयोगमा निर्माण भइरहेको छ । M/s Nirman Consultants Pvt. Ltd (PMC) ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा M/s Telecommunications Consultants India Ltd (TCIL) ले परियोजना ठेकदारको रुपमा ३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् ।

पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहने छ भने पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देसीय हल, छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको बताइएको छ । सो परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

परियोजना शुभारम्भ कार्यक्रम भारत नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको सम्बद्ध पक्षले जनाएको छ ।