बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका माहुतेको मृत्यु

बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका माहुतेको मृत्यु


बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।

निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले जानकारी दिएका छन् ।

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए । हात्ती लिएर जङ्गल पसेका थारु हात्तीबाट ओर्लिएर खर काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागे पनि माहुते थारुको प्राण भने जोगिएन ।