भूमिअधिकारको माग गर्दै साइकल ऱ्याली

भूमिअधिकारको माग गर्दै साइकल ऱ्याली


■ नारद कोहार, कपिलवस्तु

राष्ट्रिय भूमिअधिकार मञ्च प्रदेश ५ ले कपिलवस्तुलगायत विभिन्न जिल्लामा साइकल ऱ्याली सुरु गरेको छ । यसै क्रममा मंगलबार (१९ कात्तिक) चन्द्रौटादेखि बुटवलसम्म साइकल ऱ्याली गरिएको छ । प्रदेश ५ को कार्यालय बुटवलमा आज (२० कात्तिक) हुने कार्यक्रममा सहभागिताका लागि ऱ्याली बुटवल गएको हो ।

भूमिअधिकार आन्दोलनलाई सार्थक र सफल पारौँ भन्ने मूल नाराका साथ प्रदेश ५ का १२ वटै जिल्लामध्ये अत्याधिक समस्यामा परेका बर्दिया, बाँके, दाङ, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, परासी, पाल्पालगायतका जिल्लाबाट भूमिअधिकारबाट वञ्चितीकरणमा परेका भूमिहीन नागरिकले चरणबद्ध रुपमा अभियानलार्इ निरन्तरता दिँदै एक सातादेखि साइकल तथा पदयात्रा गर्दै बुटवलमा रहेको मुख्यमन्त्री कार्यलयमा मागसहित बुधबार मूख्यमन्त्रीलाई भेट गरी आफ्ना माग राख्ने कार्यक्रम रहेको छ ।

ऱ्यालीलाई सम्बोधन गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भूमिहीन नागरिकका सवाल सबैको सवाल बन्नुपर्ने बताउँदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिए ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिकाबाट पनि राष्ट्रिय भूमिअधिकार मञ्चले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनका लागि साइकल ऱ्याली तथा पदयात्रा बुटवल गएको छ ।

कार्तिक २० गते मूख्यमन्त्रीको कार्यलयमा पुगेर मागसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । संविधानमा उल्लेख गरिएका अधिकारमा रही भूमिसँग सम्बन्धित ऐनकानुन बानाउनु पर्ने, त्यसमा भूमिअधिकार मञ्चको सहभागिता गर्नुपर्ने, सुकुम्बासी भूमिहीन अव्यवस्थितहरुलाई लालपुर्जा वितरण गर्नुपर्ने, मालपोत, नापी, नगरपालिका, वडा कार्यालयबाट गरिने सेवाहरु दलित, विपन्न सीमान्तकृत समुदायका लागि निःशुल्क रुपमा उपलब्ध गर्नुपर्ने जस्ता माग लिएर मुख्यमन्त्री कार्यालयसम्म पुगेर ज्ञापन पत्र बुझाउने कायक्रम रहेको छ । ऱ्यालीमा लगभग ३५ जना भूमिहीन नागरिक शिवराज नगरपालिकाबाट साइकलसहित सहभागी भएको जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष निरपत थारुले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा भूमिमा काम गर्ने तर आफ्नै भूमि नहुनेको लागि भूमि हुनुपर्ने, सुकुम्बासीका लागि पनि जग्गाको लालपुर्जा हुनुपर्ने, गरिखाने वर्गलाई जमिन हुनुपर्ने र गरिवका माग पूरा हुने आशाका साथ मुख्यमन्त्रीसामु ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भूमिअधिकार मञ्च शिवराज नगरसमितिका अध्यक्ष ज्ञानेन्द्र लामीछानेले बताए ।