विद्यालयमा कम्प्युटर र मोबाइल प्रतिबन्ध गर्न माग

विद्यालयमा कम्प्युटर र मोबाइल प्रतिबन्ध गर्न माग


-नवीन उप्रेती
कम्प्युटर र मोबाइलजस्ता प्रविधिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यस्ता साधनमाथिको निर्भरतालाई मानिसले अपरिहार्य ठान्दै गएकाले यी वस्तु अब विलासिताको साधन नभएर विकसित समाजमा मानवजीवनको अभिन्न अङ्ग नै बन्न पुगेका छन् । यी प्रविधिको उपभोगमा आएको बढोत्तरीसँगै यसका विसङ्गतिहरू पनि त्यत्तिकै सामुन्ने आएका छन् । यही क्रममा पछिल्लो समय व्यापक प्रयोगमा आएको वायरलेस इन्टरनेट कनेक्सनयुक्त मोबाइल फोन तथा कम्प्युटर मानवस्वास्थ्यका लागि अत्यन्त खतरापूर्ण रहेको भन्दै विद्यालयमा यी वस्तु प्रतिबन्धित तुल्याइनुपर्ने धारणा एक सशक्त युरोपियन संस्थाले सार्वजनिक गरेको छ । काउन्सिल अफ युरोप समितिले उल्लेखित प्रविधिहरू प्रयोगमा सजिलो या उपयोगी भए पनि मानिसमाथि ‘अत्यन्त विनाशकारी खतरा’का रूपमा रहेको प्रमाण अघिसार्दै बालबालिकालाई यसको नकारात्मक प्रभावबाट बचाउन तत्काल कदम उठाउनुपर्ने माग गरेको छ । धुम्रपान र पेट्रोलमा रहने सिसाबाट पुग्ने हानिबारेको आंकलनमा यसअघि हुन पुगेको कमजोरी औंल्याउँदै काउन्सिलले वायरलेस मोबाइल र कम्प्युटरबाट हुने खतराबाट बच्न समयमै सतर्कता अपनाउनुपर्ने सुझाव दिएको छ ।

अक्षम पुरुष पनि बाबु बन्ने !
प्रजनन कार्यमा अक्षम पुरुषको पीडा अब दूर हुने भएको छ । वैज्ञानिकहरूले पहिलोपटक स्टेम कोशिकाहरूको माध्यमबाट प्रयोग गर्न लायक कृत्रिम वीर्य तयार पारिएको दाबी गरेका छन् । यसबाट गर्भाधान गराउन अक्षम पुरुषको उपचार सम्भव रहेको उनीहरूको कथन छ । लन्डनबाट प्रकाशित हुने ‘द टेलिग्राफ’को एक प्रतिवेदनअनुसार जापानको क्योटो विश्वविद्यालयको एउटा टिमले प्रयोगशालामा वीर्य पैदा गर्ने ‘जनन कोशिका’ तयार गरेर प्रजननमा अक्षम रहेको मुसामा प्रयोग गरेको थियो । उपचारपछि त्यस्ता मुसा प्रजनन कार्यमा सक्षम देखिए । मुसाझैं मानवमा उक्त उपचारविधि सफल भएमा त्यस्ता लाखौँ पुरुष बाबु बन्न लायक हुनेछन् ।

कृत्रिम छालाको डिभाइसबाट मधुमेहको उपचार
बेलायती वैज्ञानिकहरूले एक यस्तो कृत्रिम छाला -सेसज स्किन) निर्माणको दाबी गरेका छन् जसको सहयोगबाट मधुमेहको उपचार हुन सक्छ । बेलायतको ‘टे्रफोर्ड हेल्थकेयर नेसनल हेल्थ र्सर्भिस’का डाक्टर म्यासनको नेतृत्वमा रहेको वैज्ञानिक टिमको भनाइ छ कि कृत्रिम छालायुक्त दुई फुट लामो एक डिभाइसले मधुमेहरोगीमा आर्श्चर्यजनक ढङ्गले सुधार ल्याउनेछ । इन्डोब्यारियर नाम दिइएको यो प्रविधि केही सातामै उपयोगमा ल्याइने पनि उनीहरूले जनाएका छन् । इन्डोव्यारियरलाई पेटको माथिल्लो भागमा बेल्टझैं लपेटिन्छ जसको असर अपरेसन गरेजस्तै हुनेछ । तर, अपरेसन गर्दाझैं खतरा यस विधिमा नरहने हुनाले बिरामीले अत्यन्त सहज र सुरक्षित अनुभूति गर्ने दाबी सम्बन्धित वैज्ञानिकहरूले गरेका ‘डेलिमेल’ले जनाएको छ ।

मोडलको यो कस्तो नखरा !
पुरुषको पत्रिकाका रूपमा विश्वविख्यात ‘प्ले ब्वाय’ले एक अस्टे्रलियन मोडल तथा अभिनेतृलाई एउटा तस्बिरका लागि १० लाख डलरको प्रस्ताव गरेको छ । शरीरको एउटा तस्बिरकै लागि यति ठूलो धनराशिको प्रस्ताव हासिल गर्ने ती मोडल हुन् सोफिया मान्क । प्ले ब्वायको आवरणमा प्रकाशित हुने सो तस्बिरका लागि मान्कले अर्धनग्न भएर क्यामेराअगाडि उभिनुपर्ने हुन्छ । कुनै जमानामा आफ्नी आमाले पनि प्ले ब्वायका लागि तस्बिर खिचाएको खुलासा गर्दै मान्कले आफूलाई आएको प्ले ब्वाइ प्रस्ताव स्वीकार गर्ने या नगर्ने भन्नेमा निचोडमा पुगिनसकेको जनाएकी छिन् । यति आकर्षक प्रस्तावमाथि मान्कको यस्तो रवैयालाई ‘एउटी मोडल केटीको आर्श्चर्यलाग्दो नखरा’का रूपमा हेरिएको छ ।

छोराको विवाहका कारण बाबुको डिभोर्स
वैवाहिक जीवनको सफलतामाथि सुरुमै आशङ्का व्यक्त भएअनुरूप भारतीय वस्त्रउद्यमी अरुण नायर तथा चर्चित मोडल-अभिनेत्री एलिजाबेथ हलेबीच डिभोर्स भइसकेको छ । तर, उनीहरूको विवाहकै कारण नायर परिवारले व्यहोर्नुपरेको क्षतिबारे भने चर्चा हुन छोडेको छैन । अरुणका ७१ वर्षीय बाबु विनोद नायरले छोरा-बुहारीको विवाहले गर्दा आफ्नी ब्रिटिस पत्नीसँग पारपाचुके भएको दु:खेसो गरेका छन् । भएछ के भने उनकी ६० वर्षीया पत्नी जोआनले आफ्ना सौतेलो छोरा अरुणको सन् २००७ मा भएको हाइप्रोफाइल रोमान्स एवम् भड्किलो विवाह समारोहको दुरुपयोग गरेर धन आर्जन गर्न खोजेकी रहिछन् । विनोदलाई त्यो मान्य भएन र पत्नीसँग डिभोर्स हुन पुगेको रहेछ ।