गिर्दो छ सरकारी कर्मचारीप्रतिको आकर्षण-वसन्तराज कुँवर

गिर्दो छ सरकारी कर्मचारीप्रतिको आकर्षण-वसन्तराज कुँवर


ड्रग्सविरुद्ध जनचेतना जगाउने क्रममा बेलायत बसोबास गर्ने नेपाली समाज नियाल्ने अवसर मिल्यो । नेपाली समाजको टोल चहार्दा एक ब्रिटिस सैनिकको घरमा उनका केटाकेटीसँग मैले लामै कुरा गर्ने मौका पाएँ । मलाई बेलायतमा कसैको घरमा बस्नुभन्दा बीएनबी भन्ने स-साना लजमा बस्न साह्रै मन पर्‍यो । किनकि, बेलायती परिवारले चलाएका त्यस्ता लजहरू ज्यादै सफा, तुलनात्मक ढङ्गले सस्ता हुनुको साथै त्यहाँ ब्रेकफास्ट पनि दिइनेरहेछ । बेलायततिरका घर नै साना र कोठाहरू पनि स-साना हुने भएकाले कसैको परिवारसँग बस्दा घरवालालाई दु:ख हुन्छ भन्ने लागेर पनि म सकभर कसैको घरमा बस्न रुचाउँदिनँ थिएँ, तर एक परिवारले मलाई उहाँहरूसँग बस्न बाध्य बनायो ।
हामीहरू दिनभरि घुम्ने र जनचेतना जगाउने काममा व्यस्त भए पनि रातको दश बजेतिर घरमा आइपुग्थ्यौँ । त्यतिबेला त्यो घरमा पारिवारिक माहोल हुने गर्दथ्यो । म जसको घरमा बस्थेँ उनका दुई छोरी र एक छोरा थिए । बाबु आफूपनि ब्रिटिस सैनिक भएर बेलायती सरकारका लागि काम गरेका कारण छोराछोरी पनि त्यहाँको सरकारी सेवामा लागून् भन्ने उहाँको चाहना रहेछन् तर छोराछोरी भने त्यहाँको सरकारी जागिर खान मन गर्दारहेनछन् । युरोप तथा अमेरिकाका अधिकांश नागरिकले सरकारी जागिर खाने त्यति चाहना राखेको पनि मैले देखिनँ ।
म नेपालबाट गएको व्यक्ति हुँदा मेरा लागि ती छोराछोरीको भावना नौलो लाग्यो । हाम्रो देशमा पियन, सिपाही, खरदार, शाखा अधिकृत वा जुनसुकै सरकारी पदमा काम गर्न मान्छेलाई कति धेरै चाहना हुन्छ । तर, ती नेपाली परिवारका छोराछोरीलाई त्यहाँ त्यो चाहना थिएन ।
नेपालमा सरकारी पद सधैं आकर्षणको सेवा बन्यो । मैले जागिर खाँदा प्रहरीहरू पनि आफ्ना राता टोपी देखाई यो सरकारको सिन्दुर हो भन्ने गर्दथे । हाम्रा बाउबाजेका पालादेखि नै राजा, राणा प्रधानमन्त्री वा मुख्य मुख्य सैनिक, प्रशासकहरूको ढोकामा काम गर्न पाएकोमा नै उनीहरू दङ्ग पर्ने गर्दथे । जो जसले सरकारी पद पाउँथे उसको समाजमा पनि सानै बेग्लै हुन्थ्यो । जागिर पाउनेको रवाफ र फूर्ति पनि बेग्लै हुन्थ्यो । म प्रहरीमा इन्सपेक्टर हुँदा आफूलाई के-के न भएको ठान्थेँ । प्रहरी पोसाक लगाई बाटामा हिँड्दा सबैले मलाई हर्ेर्थे । लवेदा सुरुवाल लगाई चस्मा भिरेर सिंहदरबार, राजदरबार वा मन्त्रालयमा छिर्नेे निजामती कर्मचारीको पनि छुट्टै रवाफ हुन्थ्यो । तर, आजभोलि बेलायतमा झैं नेपालमा पनि सरकारी पदको त्यो रवाफ क्रमश: गिर्दै गइरहेको पाइएको छ ।
बेलायतमा त सरकारी कर्मचारी आफूलाई जनताको सेवक ठान्छन् । उनीहरू निश्चित नियमको परिधिभित्र काम गर्दछन् । नेपालमा जस्तो आममानिसलाई फूर्तिफार्ती दिने वा उनीहरूसँग नाजायज फाइदा लिने वा सम्पर्कमा जाने सम्भावना त्यहाँ ज्यादै न्यून छ । हरेक कामका लागि रिसेप्सनमा गएर निवेदन वा सूचना गरेपछि घर फर्के हुने रहेछ । त्यो काम निश्चित दिनमा सकी आफ्नै घरकै कम्प्युटरमा काम भए-नभएको खबर आउँदो रहेछ वा पत्र नै आफैं घर आइपुग्दोरहेछ । लौ त भनौं भने आमजनता -सेवाग्राही) र सरकारी कर्मचारीबीचको त्यहाँ प्रत्यक्ष भेटघाट नै बहुतै कम हुँदो रहेछ तर नेपालमा सेवाग्राहीहरूको प्रत्यक्ष रूपमा सरकारी कर्मचारीसँग भेटघाट हुने गर्छ । यसरी प्रत्यक्ष भेटघाट गर्नेक्रममा नेपालीले सरकारी कर्मचारीलाई भेट्छन्, देख्दछन्, उनीहरूको फूर्तिफार्ती र शक्ति अनुभूति गर्दछन्, त्यो शक्तिको आडमा कर्मचारीलेे फाइदा लिएको पनि देख्छन् र अधिकांश युवायुवती यसैकारण सरकारी कर्मचारी नै हुन चाहन्छन् । बेलायतमा त्यो फूर्तिफार्ती देखिँदैन त्यसैले त्यो कताकता लुकेझैं बस्ने त्यो पदमा आकर्षण नभएको पनि हुनसक्छ । यसबाहेक नेपालमा निजीक्षेत्रमा खासै केही गर्न नसकिने, केही गर्ने माहोल पनि नभएको र गर्न खोजे पनि बाधा नै बाधा पार गरेर जानुपर्ने हुँदा बरु सरकारी जागिर खाए टाइममा तलब पाइन्छ, कुनै खतरा छैन, लगानीको जोखिम पनि नभएको, जागिर छोड्दा पनि पेन्सन पाइन्छ भन्ने सोचेर नै यसमा बढी आकर्षण भएको हुनसक्छ । तर जे भए पनि अहिले आएर भने सरकारी पद पहिलेझैं सम्मानित र आकर्षक छैन । अहिले नेपालमा पनि क्रमश: सरकारी जागिरप्रतिको दृष्टिकोणमा परिवर्तन आइरहेको मैले महसुस गरेको छु ।
जागिर खाँदा भोगेको उच्च डिग्रीको जालझेल, षड्यन्त्र, राजनीतिक दबाब देखेर होला अहिलेको उच्च तहका प्रशासकहरू पनि आफ्ना छोराछोरीलाई सरकारी सेवामा पठाउन लालयित देखिँदैनन् । मैले देखेँ कि प्रहरी र सैनिकका उच्च अधिकृतहरू पनि आफ्ना छोराछोरीलाई आफूले खाएको जागिरमा लान खोजिरहेका छैनन् जब कि आजभन्दा बीस वर्ष अगाडि फौजका अधिकृतहरूले आफ्ना छोराछोरीलाई फौजमै जागिर खुवाउन चाहन्थे । सरकारी जागिरमा जान नखोजेका अर्को कारण के पनि हुन सक्छ भने त्यहाँभन्दा निजी वित्तीय संस्थाहरूमा आकर्षक सेवा-सुविधा पाइन्छ । आज बैंकहरूमा लाखौँ तलब खाने कर्मचारी छन् जब कि निजामती सेवामा सचिव हुनेको पनि बीस-पच्चीस हजारभन्दा माथि छैन जस्तो लाग्छ । त्यसै कारणले होला अधिकांश विदेशबाट पढेर आउने त्यता गइरहेका छन् । व्यापारी र राजनीतिक घरानाका छोराछोरी सरकारी कर्मचारीमा जानै चाहँदैनन् । राजनीतिक व्यक्तिका छोराछोरीले आफ्ना नेता बाबुका अगाडि ठूलाठूला प्रशासकले हात जोडेर हस् हजुर, हस् हजुर भनेको देखेका कारण उनीहरूलाई त्यो पद ज्यादै हलुँगो लाग्दोरहेछ भने व्यापारीहरूका बालबच्चा त्यहाँ हुने ज्यादै कम आम्दानी र बाँधिएर बस्नुपर्ने जीवनसँग सन्तुष्ट हुँदा रहेनछन् । विदेशमा पढेर आएका पहिलो त नेपाल नै फर्कन चाहँदैनन् र फर्किहाले भने पनि उनीहरूमा पारम्पारिक ढङ्गको लोकसेवा आयोगको जाँच पास गर्ने क्षमता नै हुँदैन ।
हामीले अहिले हेर्‍यौँ भने क्रमश: नेपालमा ज्यादै पढेलेखेको, वा उच्चघरानाको वा मध्यवर्गीय परिवारभन्दा माथि रहेको परिवारको सहभागिता सरकारी जागिरमा क्रमश: कम कम हुँदै जाँदै छ । अधिकांश लोकसेवा पास गर्नेहरू पहाड वा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आएर डेरामा बसी पढ्नेहरू छन् । हामीले गहिरिएर हेर्‍यौँ भने अहिले काठमाडौंको कलेज वा प्राइभेट युनिभर्सिटीहरूबाट पास गरेका विद्यार्थीले भन्दा सरकारी स्कुल, कलेज, युनिभर्सिटीहरूमा पढेकाहरू नै बढी सरकारी सेवामा काम गर्न प्रयास गरिरहेका छन् । मध्यमवर्गीयभन्दा माथिका छोराछोरी विदेशमै रहने उद्देश्य लिएर नेपालबाट पलायन हुँदै छन् ।
कुनै पनि मुलुकमा राजनीतिक व्यक्तिहरू नै जनताको जीवनस्तर माथि उठाउने माइन्डेट पाएर राज्य हाँक्न आएका हुन्छन् तर तिनका उद्देश्य प्राप्त गर्नका लागि रणनीति तयार गर्ने र त्यसमा काम गर्ने व्यक्ति त सरकारी कर्मचारीहरू नै हुने गर्दछन् । हाम्रोजस्तो मुलुक जहाँ अधिकांश राजनीतिक व्यक्तिहरूमा न राष्ट्रप्रेम छ न नैतिकता छ, न भिजन छ, न स्थिरता छ, र न उच्च शिक्षा नै छ यस्तो मुलुकमा त झन् कर्मचारीको ठूलो भूमिका हुने गर्छ । सुरक्षादेखि लिएर विकास र आन्तरिक प्रशासनदेखि लिएर परराष्ट्रसम्म हाम्रोजस्तो देशमा कर्मचारीले नै मन्त्रालय धानेका हुन्छन् । त्यसैले यो मुलुकमा सरकारी कर्मचारीलाई बलियो बनाउन र त्यो पदहरूमा उत्कृष्ट मानिसलाई ल्याउन नसकी राजनीतिक व्यक्तिहरूको आफ्नै अस्तित्वरक्षा र प्रजातन्त्रको सुरक्षाको पनि हुन सक्दैन । विकास त परै जाओस् । यो कुरा प्रधानमन्त्री वा मन्त्री हुनेदेखि लिएर जिल्ला-जिल्लामा खटिने राजनीतिक व्यक्तिहरूले पनि राम्ररी बुझ्न जरुरी हुन्छ । तर, अहिले बुझेकोजस्तो देखिँदैन । जापानमा महिना-महिनामा प्रधानमन्त्री परिवर्तन भएको पनि देखिन्छ तर त्यहाँ विकास र स्थिरतामा कुनै समस्या र बाधा आउने गर्दैन । यहाँ नेपालमा मन्त्री, प्रधानमन्त्री समयमा नआएका कारण विकास आयोजनादेखि लिएर समग्र प्रशासनिक काममा समेत अनावश्यक रूपमा बाधा आउने गर्दछ । जापानमा कर्मचारीतन्त्र र तिनका काम-कर्तव्यलाई यति बलियो र व्यवस्थित बनाइएको छ कि त्यहाँ राजनीतिक व्यक्ति हुनु-नहुनुमा खास फरक पर्दैन ।
नेपालमा यो निश्चित हो कि सरकारी जागिरप्रतिको आकर्षण मात्र होइन त्यो जागिरमा जाने आमनेपालीमा रुचि नै कम हुँदै गएको छ । त्यसो हुनुमा माथि उल्लेख गरिएझैं धेरै कारण हुन सक्छन् तर त्यसमध्ये पनि मुख्य कारणचाहिँ राजनीतिक व्यक्तिहरूले कर्मचारीतन्त्रमा ल्याइदिएको विचलन नै हो । अहिले कर्मचारीतन्त्रमा यति धेरै चरम राजनीतिक हस्तक्षेप छ कि सचिव भएको वा प्रहरी प्रमुख भएको एक व्यक्ति बीस-बीस वर्षसम्म जागिर खाएपछि अन्तमा रुँदैरुँदै वा अपमानित हुँदै घर फर्कनुपर्ने अवस्था छ ।
भारतमा हालै अन्ना हजारेले नागरिक आन्दोलन गरे । त्यो टिममा एक जज, एक प्रहरीका आईजीपी र एक आईएस अफिसर पनि थिए । अन्नालाई साथ दिने सबै पूर्वसरकारी अधिकृतहरूले विगतमा चरम राजनीतिक शोषण भोगेका थिए । त्यसैले हो उनीहरूले खुलेरै अन्नालाई साथ दिए तर जब सबैलाई पक्राउ गरी तिहाड जेल लगियो सरकारले अन्ना हजारेलाई थुने पनि पूर्वप्रहरी प्रमुख किरण वेदी र एक पूर्व आईएस अफिसर -निजामती अधिकृत) लाई भने थुनामा राखेन । नेपालमा भएको भए कर्मचारी थुनी अन्ना हजारेलाई पक्राउ नै गर्थेनन् होला तर भारत सरकारलाई यो थाहा थियो कि यदि पूर्व उच्च अधिकृतलाई कारबाही गरे सरकारका थुप्रै पोल खुल्न सक्छ, वा उनीहरूमाथि समर्थन गर्दै अरू कर्मचारीहरू पनि सरकारविरोधी हुन सक्छन् । त्यसैले भारत सरकारले भारतीय सरकारी कर्मचारीको सम्मान गर्दै जेलमा राखेन । शायद यसैले होला विशाल भारत सरकारको नियन्त्रणमा छ ।
नेपालमा अहिले राजनीतिज्ञहरूले कर्मचारीहरूलाई हरुवाचरुवा वा किडे-मकौडेजस्तो मान्न ठानेझैं देखिन्छ । यसैको एक परिणाम होला त्यो सेवामा जाने वितृष्णा तर होनाहार मान्छे सरकारी कर्मचारीमा पनि गइदिएनन् भने हाम्रा राजनीतिज्ञहरूले यो मुलुकलाई कहाँ पुर्‍याउने होलान् ? त्यो सम्झेर डराउने गर्छर्ु । कुनै राम्रो कर्मचारी सरकारले पाउनु भनेको देशको भाग्य हो । सबै कर्मचारी देशका लागि योगदान दिन सक्ने हुँदैनन् बल्की जागिर खाने मात्र हुन्छन् ।
आज यो मुलुकमा नेताहरूमध्ये गोकर्ण विष्टजस्ता केही राजनेताबाहेक कर्मचारीहरूलाई भ्रष्ट बनाउने कृष्णप्रसाद सिटौलाजस्ता नेताहरू नै भएको पाइएको छ । कमसेकम कर्मचारी जिम्मेवार भएकै कारण यो मुलुकले सार्वभौमसत्ता जोगाई दैनिक प्रशासनसम्म चलाइरहेको छ ।
म आफैं पनि झन्डै चौबीस वर्ष कर्मचारी भई काम गरेँ । कर्मचारी हुनु वास्तवमै कठिन काम थियो । आफ्ना आत्मासम्मान, स्वाभिमान र क्षमतालाई लुकाएर, दबाएर कुनै मन्त्रीको घरघरमा पदोन्नति वा सरुवा माग्न जानुपर्दा आफूलाई आफैंप्रति धिक्कार लाग्ने गर्दथ्यो । शायद आजभोलि सबै कर्मचारीलाई मैले भोगेझैं पीडा भोगिरहनुपरेको होला त्यसैले हुनसक्छ विस्तारै-विस्तारै यो देख्ने, सुन्ने र महसुस गर्ने युवायुवती सरकारी कर्मचारी हुन खोजिरहेका छैनन् । यसरी गिर्दो देखिन्छ सरकारी कर्मचारीप्रतिको आकर्षण ।