नेता शेखरको तर्क : देशलाई ठीक ठाउँमा ल्याउन काङ्ग्रेसलाई जिताउनुपर्छ

नेता शेखरको तर्क : देशलाई ठीक ठाउँमा ल्याउन काङ्ग्रेसलाई जिताउनुपर्छ


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काङ्ग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने धारणा राखेका छन् ।

उपनिर्वाचनको सिलसिलामा पोखरा–९ (कास्की)मा शुक्रबार काङ्ग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको दाबी गरे ।

‘कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा काङ्ग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काङ्ग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि काङ्ग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ’, नेता कोइरालाको तर्क थियो ।

काङ्ग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गर्दै उनले राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको दाबी गरे ।

सो क्रममा काङ्ग्रेस कास्कीको चुनाव प्रचार अभियान तेस्रो चरणमा प्रवेश गरेको जानकारी दिइयो । काङ्ग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात–सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काङ्ग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने उल्लेख गर्दै उनले भने– ‘पूरै पार्टी पङ्क्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोहीअनुरुप रणनीति तयारी गरेका छौँ, अबको सात दिन मतदाता केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्नेविरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।’